अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

गाजापट्टीमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायली आक्रमण

बिआरटीनेपाल २०८० चैत १ गते ५:१७ मा प्रकाशित

गाजापट्टीको रफाह शहरमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायलले गरेको आक्रमणमा एक जना मारिएका छन् । प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसंघको सहायता एजेन्सीले खाद्यान्न वितरण केन्द्रमा इजरायली सेनाले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु हुनुको साथै २२ जना घाइते भएको बताएको छ । एजेन्सीका प्रमुख फिलिप लाजारिनीले यो हमलालाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट अवहेलना भनेका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाएको छ ।

उता इजरायली सेनाले भने हमासका कमाण्डरलाई लक्षित गरेको हमलामा सफलता प्राप्त भएको जनाएको छ । इजरायलका अनुसार हमासका लडाकु मोहम्मद अबु हसनालाई लक्षित गरेर सो सहायता केन्द्रमा कारवाही गरिएको हो ।

गाजामा इजरायलको आक्रमणबाट जोगिन खोज्ने झण्डै १५ लाख मानिस अहिले रफाह शहरको आसपास घेरिएका छन् । ७ अक्टोबर यता इजरायली सेनाले गरेको कारवाहीमा गाजामा अहिलेसम्म ३२ हजार बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू