अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

अमेरिकी राष्ट्रपति चुनावमा फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का

बिआरटीनेपाल २०८० फागुन ३० गते ६:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेकै बाइडेन र ट्रम्पबीच फेरि पनि प्रतिस्पर्धा हुने भएको बीबीसीले जनाएको छ ।७० वर्षयता पहिलो पटक अमेरिकी चुनावमा अघिल्लो चुनावकै झल्को दिने गरी उही दुई जना प्रतिस्पर्धी हुने पक्का भएको हो । सन् २०२० मा भएको राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गर्नुभएको थियो ।

८१ वर्षका राष्ट्रपति बाइडेनले धेरै उमेरका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी वहन गर्न सक्ने क्षमताबारे प्रश्न झेलिरहेका भए पनि पार्टीले भने उहाँलाई नै पत्याएको छ । बाइडेनभन्दा चार वर्ष कान्छा ट्रम्प रिपब्लिकन दलका आधार रहेका मतदातामाझ निकै लोकप्रिय देखिनुभएको छ ।बाइडेनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बयान गर्नुका साथै महिलाको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासबारे सचेत हुन आह्वान गरिरहनुभएको छ । ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहनुभएको छ । अमेरिकाको राष्ट्रपतीय चुनाव आउँदो नोभेम्बर ५ मा हुँदै छ ।

यसैबीच गूगलले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स (एआई) च्याटबोट जेमिनाईलाई प्रयोगकर्ताले सोध्न सक्ने चुनावसम्बन्धी कैयौँ प्रश्नहरूलाई प्रतिबन्ध लगाएको छ । गूगलले आफ्नो नीतिलाई भारतमा लागू गरिसकेको जनाएको छ । भारतमा आउँदो एप्रिलमा आमचुनाव हुँदैछ । एआई प्रविधिबारे थप विवादबाट बच्ने लक्ष्यका साथ कम्पनीले यस्तो कदम चालेको बताएको बीबीसीले जनाएको छ । यो वर्ष अमेरिका, बेलायत, दक्षिण अफ्रिका, भारत, रुसलगायत विश्वका विभिन्न देशमा चुनाव हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू