अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

टेलिकमको सेवाहरुको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

बिआरटीनेपाल २०८० पुष २५ गते ५:११ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरुको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व)को रुकुमकोट र रुकुम(पश्चिम) को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पु¥याएर फाइबर टु द होम(एफटिटिएच) सेवाको सुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने बताउनुभयो । उहाँले सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताउनुभयो । उहाँले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरु रहेका भन्दै सो गुनासाहरुलाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले यसलाई २४ घण्टा सेवामा पुर्‍याइन आवश्यक छलफल भइरहको पनि बताउनुभयो ।

मन्त्री शर्माले रुकुम (पूर्व)को रुकुमकोट र रुकुम(पश्चिम)को मुसिकोटमा फाइवर टु द होम सेवा पु¥याउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । त्यस्तै, सो क्षेत्रको रहनसहन र भेषभुषा लगायतका सबै सांस्कृतिक कुराहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन समेत सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर्‍याइसक्ने बताउनुभयो । बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्रमा पुर्‍याइसक्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले दूरसञ्चार सेवाको पूर्वाधार बिस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मतसम्भार र सेवाको वितरणलाई प्रभावकारी बनाएर १९ जिल्लालाई नमुना जिल्ला बनाउने बनाउने अघि टेलिकम अगाडी बढेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू