काठमाडौँ । हेम-सरिता पाठक फाउन्डेसन (Hem-Sarita Pathak Foundation)ले हिजो प्रज्ञा भवनमा पत्रकार तथा गीत र कविताका गरी ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो । फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरू प्रदान गर्नु भयो । कार्यक्रममा २ लाख राशिको टङ्कप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल संयुक्त पुरस्कृत हुनु भयो ।
पुरस्कृत पत्रकार दाहालद्वयले खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाउँदै आउनु भएको छ । यसै गरी १ लाख राशिको “हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार” गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत हुनु भयो । उहाँहरूले “जनतालाई रुवायो” गीतका लागि सो पुरस्कार पाउनु भएको हो ।
यसै गरी नगद १ लाख राशि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनु भएको सो कार्यक्रममा उत्कृष्ट २५ कविहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा “भ्रष्टाचार विरुद्धका कविता” पुस्तक पनि लोकार्पित भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंह, हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, पूर्व आइजिपी सर्वेन्द्र खनाल, फाउन्डेसनका प्रमुख सल्लाहकार एवं वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
हेम–सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै पुरस्कृतहरुको योगदानबारे बोल्नु भएको थियो । कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गर्नु भएको थियो । कार्यक्रम मा टङ्कप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा मौन धारण गरिएको सो कार्यक्रममा गायक एवं सङ्गीतकारहरू नारायण रायमाझी, वी. वी. अनुरागी, कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाउनु भएको थियो भने राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गर्नु भएको थियो ।
चर्चित पत्रकार एवं कवि ठाकुर बेलवासेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरू तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।