अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

काठमाडौँ घोषणा पत्र जारी गर्दै एनआरएनएको एकता महाधिवेशन सम्पन्न

बिआरटीनेपाल २०८२ वैशाख २१ गते २२:४३ मा प्रकाशित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित दिने एकता महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।

आइतबार काठमाडौँको हायात होटेलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनहरूबाट नेपालले धेरै आशा गरेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा एनआरएन नागरिकता प्रदान गर्न सुरु गरेको तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन हुन नसकेको थाहा पाउँदा दुःख लागेको बताए । उनले नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले एनआरएनहरूसँग रहेको ज्ञान र सिप नेपालको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नु पर्ने बताए । उनले एनआरएनका मुद्दाहरूलाई सम्बोधन गर्न आफ्नो दल सधैँ सकारात्मक रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ताहरू, आरके शर्मा, डा. केशव पौडेल, थर्क सेन, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, उच्चस्तरीय समितिका सदस्यहरू कुल आचार्य, विनोद कुँवर र रबिना थापाले शुभकामना दिए ।

नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई मुद्दा मामिला फिर्ता लिन आग्रह गर्दै नयाँ कार्यसमितिले छुटेका साथीहरूलाई पनि समेट्न सक्दो प्रयास गर्ने जनाए ।

कार्यक्रममा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनले पारित गरेको ‘काठमाडौँ घोषणा पत्र २०२५’ पढेर सुनाउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका सङ्घका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूहरूले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै विभिन्न वाधा व्यवधान खपेरै भए पनि तोकिएको समयभित्रै निर्वाचन गराएको जनाए । उनले नयाँ कार्यसमिति संस्थालाई एकजुट बनाएर अघि बढ्न सफल होस् भनी शुभकामना पनि दिए ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले शपथ दिलाउँदै प्रमाण पत्र प्रदान गरेका थिए । २ दिने अधिवेशनमा संसारभरिबाट आएका सयौँ डेलिगेट्सहरु सहभागी भएका थिए । अधिवेशन सम्पन्न भएसँगै सहभागीहरू कर्मथलो फर्किन थालेका छन् ।

गैर आवासीय नेपाली संघ एकताको महाधिवेशन काठमाडौँ घोषणा २०२५
सम्मानित सर्वोच्च अदालतको परमादेशको पालना गर्दै नेपाल सरकारसँग समन्वय गरी गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा मे ३-४, २०२५ मा काठमाडौँमा आयोजित एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। डेलिगेट्सहरुबीच व्यापक छलफल गरी यो महाधिवेशन निम्न घोषणा गर्दछ:

१. यो महाधिवेशन गैर आवासीय नेपालीहरू (एनआरएन) हरुले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नेपालको संविधानले व्यवस्था गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी जतिसक्दो चाँडो विद्यमान ऐनकानूनमा संशोधन गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछ।

२. यो महाधिवेशन विदेशमा बस्ने नेपालीहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने छिटोभन्दा छिटो व्यवस्था गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्दछ।

३. यो महाधिवेशन मध्यपूर्व लगायतका मुलुकमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीका यावत् समस्या र त्यहाँ अज्ञानवश जेलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

४. यो महाधिवेशन ब्रिटिस सेनाबाट सेवा निवृत्त पूर्व गोरखा सैनिकहरूको समान पेन्सन लगायतका मागहरूलाई पूरा गर्न कूटनैतिक पहल तीव्र पार्न नेपाल सरकारलाई आग्रह गर्दछ।

५. यो महाधिवेशन विगतका तीता मीठा अनुभवहरू बिर्सेर संस्थालाई एकजुट बनाउन एउटा समयबद्ध रोडम्याप तयार गरी अगाडी बढ्न नवगठित कार्यसमितिलाई अनुरोध गर्दछ।

६. यो महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, नेपाल सरकारका प्रतिनिधि लगायत राजनीतिक दल तथा नेतृत्व वर्गप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यसै गरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू, निर्वाचन समिति, पर्यवेक्षक, संचारकर्मी तथा पत्रकारहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

मे ४, २०२५ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू