अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

नेपाल अमेरिका कूटनीतिक सम्बन्धको पचहत्तरौं वार्षिकोत्सव सम्पन्न

बिआरटीनेपाल २०८० भदौ १७ गते २१:०८ मा प्रकाशित

कोलोराडो, अमेरिका । नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा कोलोराडोमा रहेका नेपाली समुदायद्वारा उत्सव कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन शुक्रवार, र्‍यालीमा दुवै देशका झन्डा बोकेर कार्यक्रम स्थलमा परिक्रमा गरिएको थियो भने कार्यक्रमको सुरुवात दुवै देशका राष्ट्रिय गीत बजाइएर गरिएको थियो ।

उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत प्रा श्रीधर खत्री र कोलोराडो गभर्नर गेरेड पोलिसले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा झाकी, पूर्णमान डङ्गोलको गणेश नृत्य, नेवा खलको तर्फबाट सय थरी बाजा गीतमा नृत्य प्रस्तुत गरेका थिए भने ८ वर्षकि अभानी श्रेष्ठले शुभकामना भरी तथा नेवारी गीतमा नृत्य गरेकी थिइन ।
उदघाटन समारोहको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

कोलोराडोका नेपाली संस्थाहरूको आयोजनामा गरिएको उक्त कार्यक्रममा हेल्पिङ ह्यान्डका अध्यक्ष नारायण श्रेष्ठले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले नेपाल अमेरिका कूटनैतिक सम्बन्धको चर्चा गर्दै कूटनीतिक सम्बन्धका ७५ वर्ष निकै उपलब्धिमूलक रहेको बताएका छन् । राजदूत खत्रीले ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा नेपाल र अमेरिका एक अर्काको साथमा उभिँदै आएको धारणा व्यक्त गरे । राजदूत खत्रीले अमेरिका नेपालको प्रमुख विकास साझेदार रहेको बताउँदै नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन विकास तथा सूचना प्रविधिको क्षेत्रमा लगानीको अवसर रहेको बताएका छन् ।

कोलोराडो गभर्नर जारेड पोलिसले नेपाली समुदाय कोलोराडोका लागि महत्त्वपूर्ण भएको बताएका छन् । अमेरिका र नेपालबिचको मैत्रीपूर्ण सम्बन्धको ७५ औँ वर्षगाँठ मनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘नेपाली समुदायले कोलोराडोमा महत्त्व राख्छन्,’ उनले भने, ‘उनीहरूले यहाँका संस्कृतिमा योगदान दिएका छन् । यहाँ नेपाली रेस्टुरेन्टहरू छन् । स्टोर छन् । कोलोराडोमा नेपालीहरूको बौद्ध मन्दिर छ ।’ गभर्नर पोलिसले अमेरिका र नेपाल सम्बन्ध अघि बढाउन पर्यटन, व्यापार पारवहनलाई महत्त्व दिइनु पर्ने बताए । उनले अमेरिका र नेपाल मात्र नभएर कोलारोडो र नेपालको सम्बन्ध जनस्तरमा भएको उल्लेख गरे ।

उनले संयुक्त राज्य अमेरिका र नेपालको सम्बन्धको ७५ औँ वर्षगाँठ मनाउन आयोजना गरिएका कार्यक्रममा सहभागी हुन पाउँदा उत्साही भएको बताए । ‘नेपालसँग सम्बन्ध कायम गर्ने संयुक्त राज्य दोस्रो देश हो,’ उनले भने, ‘हाम्रो मैत्रीपूर्ण सम्बन्ध बलियो साझेदारी छ । हामी अहिले अमेरिका र नेपालको सम्बन्धको ७५ औँ वर्षगाँठ मात्र मनाइरहेका छैनौँ, कोलोराडो र नेपालबिचको बलियो साझेदारीयुक्त सम्बन्ध पनि मनाइरहेका छौँ।’ नेपाल र कोलोराडोबीच धेरै कुरामा समानता रहेको उल्लेख गर्दै उनले भने, ‘कालोराडोमा जुनसुकै पृष्ठभूमिका जो कोहीका लागि लागि फस्टाउन समान अवसर छ । जो, जहाँबाट जहिले आएको भए पनि हामी सबै फस्टाउन र सफल हुन सकुन् भन्ने सुनिश्चित गर्न चहान्छौं ।’

उक्त कार्यक्रममा बोल्दै युएस काँग्रेस म्यान जो नेगुल्स, बोल्डर काउन्टी कमिस्नर एस्ली स्टल्जम्यान, कोलोराडो राज्यका लँगमण्ट सिटीका मेयर जोन पिक, बोल्डर सिटीका मेयर आरोन ब्राकेट, ब्रुमफिल्ड सिटीका मेयर गाईलेन कास्टिवटाले पनि अमेरिका नेपाल कूटनीतिक सम्बन्धलाई अझै दिगो बनाउँदै लैजानु पर्ने कुरामा जोड दिएका थिए ।

त्यसै गरी टेक्सस राज्यको सिटी अफ युलेशका काउन्सिल म्यान टीका पौडेलले अमेरिकामा रहेका नेपालीहरू अमेरिकी समुदायका अभिन्न अङ्ग भइसकेकाले अमेरिकामा रहेका नेपालीहरू क्रमशः मूलधारको राजनीतिमा आउनु पर्ने कुरामा जोड दिए । कोलोराडोका स्थानीय राजनैतिक व्यक्तिहरूको नेपाली समुदायलाई हेर्ने दृष्टिकोण राम्रो बन्दै गएकाले आगामी निर्वाचनमा नेपालीहरू मतदाता मात्र होइन उम्मेदवारको रूपमा अगाडी आउन वातावरण बनाउन आग्रह गरे ।

नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाल अमेरिका कूटनीतिक सम्बन्धका उपलब्धिहरूको बारेमा चर्चा गर्दै कूटनीतिक सम्बन्धका ७५ वर्ष दुवै देशका लागि फलदायी बनेकाले यसलाई थप उचाइमा पुर्‍याउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष तथा नेपाल अमेरिका अध्ययन केन्द्रका अध्यक्ष दिनेश शर्माले जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु–पुस्ताको नेपाल अमेरिका सम्बन्धको जग भएकाले यसलाई सुदृढ बनाउँदै लैजानु पर्ने बताए ।

नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारीले नेपाल अमेरिका कूटनीतिक सम्बन्ध दिगो बनाउनका मिडियाको पनि उल्लेख्य योगदान रहेको बताउँदै आगामी दिनमा दुई देश बिचको सम्बन्धलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने कुरामा जोड दिए ।

एन्आरएन अमेरिका अध्यक्ष डा अर्जुन बन्जाडेको प्रस्तुतीको भिडियो

कार्यक्रममा कोलोराडो स्थित नेपाली समुदाय तथा विभिन्न राज्यबाट सहभागी भएका नेपाली सामाजिक अभियन्ताहरूको सहभागिता रहेको छ । कार्यक्रममा धन्यवाद ज्ञापन सुनन्दा डङ्गोलले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सुभु सिंह र ग्रीस्मा गौतमले गरेका थिए ।

उत्सव कार्यक्रमको दोस्रो दिन शनिवार नेपाली राजादुतावासको तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत प्रा श्रीधर खत्रीले नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको बारेमा आफ्नो प्रस्तुति दिएका थिए । त्यसै गरी मि डान एड्वर्डको प्रस्तुति, इमिग्रेसन फोरम तथा एनआरएन फोरमको सञ्चालन भएको थियो । अन्तमा ७ बजे साँझ राजु लामा कन्सर्ट सम्पन्न भएको थियो ।

अमेरिकाका लागि नेपाली राजदूत प्रा श्रीधर खत्रीको प्रस्तुतीको भिडियो

मि डान एडवर्डको प्रस्तुतिको भिडियो

राजु लामाको कन्सर्टको भिडियो

फोटो: किशन रेग्मी, रिपोर्ट्स क्लब अमेरिका

प्रतिक्रिया