अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 00:27

‘अभिव्यञ्जना यात्राप्रति’ गोपी मैनालीको दृष्टिकोण

ठाकुर शर्मा भण्डारी २०८० जेठ २७ गते १९:२४ मा प्रकाशित

१. स्रष्टापरिचय
माता रेवती मैनाली पिता केदारनाथ मैनालीका सुपुत्र गोपी मैनालीको जन्म विक्रम संवत् २०२० साल आषाढ १ गते काभ्रेपलान्चोकमा भएको हो । मैनालीले शिक्षा क्षेत्रमा विकास प्रशासन, अर्थशास्त्र र वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । नेपाल सरकारको (निजामती सेवा) विशिष्ट तहसम्म रही देश सेवामा निरन्तर लागेका मैनालीले अध्यापनको कार्य पनि गर्दछन् । नेपाली साहित्यको क्षेत्रको क्षेत्रमा शिेषतः निबन्ध विधा र समालोचना विधामा चर्चित व्यक्तित्व हुन् तर उनको लेखनवषयले व्यापकता पाएको देखिन्छ ।

गोपी मैनालीका आजसम्म प्रकाशित कृति हुन्: अवसाद अभिनयी (निबन्ध सङ्ग्रह २०४०), आँखाभरि रमिता मनभरि वेदना (नियात्रा सङ्ग्रह २०६३), युगकवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण (२०६८), अपेक्षा र अनुभूति (निबन्ध सङ्ग्रह २०७४), घाउ आफैँलाई दुख्छ (निबन्ध सङ्ग्रह २०७८) र अभिव्यञ्जना यात्राप्रति (समालोचना सङ्ग्रह २०७८) । उनको ‘रमेश विकल ः समालोचनात्मक विश्लेषण’ (२०८० वैशाख) सद्यः प्रकाशनमा आउँदै छ । व्यवस्थापन तथा समसामयिक विषयका कृतिहरूमा प्रत्यक्ष शासन र जनआन्दोलन (२०६४), राज्य सञ्चालनका आधारहरू (२०६६), नेपालमा बजेट र योजना (२०६७), प्रशासन र सुशासन (२०६८), विकास, व्यवस्थापन र व्यावसायिकता (२०७५) रहेका छन् ।

विभिन्न विधामा लेखन कार्य र अन्य क्षेत्रमा महनीय कार्यसम्पादन गरेबापत गोपीजीलाई अनेकौँ संस्थाहरूले विभूषण, पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । ती हुन्: संयुक्त राष्ट्रसङ्घीय प्रणालीबाट विशेष प्रशंसा (सन् २०१३), काभ्रे सेवा समाजबाट सम्मानित (२०७४), मैनाली सेवा समाजबाट सम्मानित (२०७४), सुप्रबल जनसेवाश्री (२०७५), महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार (२०७६), सहकारी क्षेत्रमा गरेको योगदानका लागि विशेष सम्मान (२०७६), वाग्मती प्रदेशस्तरीय राष्ट्रिय प्रतिभा पुरस्कार (२०७७), धुलिखेल सेवा श्री (२०७७), अन्तर्राष्ट्रिय लायन्स तथा लायन्स क्लब शङ्खुबाट नागरिक सम्मान (२०७७) आदि ।

२. स्रष्टाप्रति विद्वानहरुको दृष्टिकोण
गोपी मैनालीको सामाजिक एवं साहित्यिक व्यक्तित्व र विशिष्टता अनेक विषयमा झल्किन्छ । ‘घाउ आफैँलाई दुख्छ’ निबन्धसङ्ग्रहको भूमिका लेख्ने क्रममा समालोचना क्षेत्रका प्रसिद्ध व्यक्तित्व प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल खुलेर प्रशंसा गर्नुहुन्छ: “गृहीत विषयको दार्शनिक व्याख्या र कलात्मक अभिव्यक्ति, अनुभूतिको तीव्रता, काल्पनिकताको प्रबलता, स्वैरकाल्पनिक प्रस्तुति, बेजोड कल्पना र बौद्धिकताको सम्मिलन, राष्ट्रवादी भावना, स्वैरकल्पनात्मक भावाभिव्यक्ति, छोटा छरिता वाक्यको प्रयोग, प्रवाहपूर्ण भाषिक विन्यास आदि गोपी मैनालीका खास वैशिष्ट्य हुन् ।” गोपीजीलाई भनेका यी शब्दहरू धेरैले धेरैलाई प्रयोग गर्छन्, भन्ने हुन सक्छ तर यहाँ लेखक व्यक्तित्व प्रति सुहाउँछ, भाषिक क्षमतालाई हेर्दा । यो स्रष्टा–द्रष्टा गोपीजीमा पनि यथावत् पनि लागू हुन्छ ।

‘नवोन्मेष र उद्वोधनमा: समालोचक गोपी मैनाली’ शीर्षकमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार व्यक्तित्व बाजुराम पौडेलको दृष्टिकोण छ: “समालोचक गोपी मैनालीका समग्र रचना पढ्दा सर्वसाधारण पाठकले अनुभूत गर्न नसकेका र अप्रत्यक्षमा रहेका कला, भाव र अभिव्यञ्जनात्मक विम्बहरूलाई सरल सङ्केतमा उतारिदिएको अनुभूति हुन्छ । यसरी कृतिको गहनता, विश्लेषण, सूक्ष्म केलाइ र पिँधसम्म पुगेर उद्बोधन पहिचान गर्ने क्षमता नै समालोचक गोपी मैनालीका उच्चतम उचाइ मापनका यन्त्र साबित भएका छन् ।” (पृष्ठ छ)

३. ‘अभिव्यञ्जना यात्राप्रति’ प्रति सङ्क्षिप्त विश्लेषण
‘अभिव्यञ्जना यात्राप्रति’ समालोचना कृति सुरभि साहित्य प्रतिष्ठानबाट २०७९ सालमा प्रकाशित अत्यन्त महत्त्वपूर्ण कृति हो । समालोचनाभित्रको समालोचना गर्ने क्षमता मेरो होइन, यो कार्य विशिष्ट स्रष्टा–द्रष्टा व्यक्तित्वहरूको काम हो, लेखक स्वयं विज्ञ छन् यस विषयमा । ‘अभिव्यञ्जना यात्राप्रति’को कृतिगत विषयलाई लिएर सङ्क्षिप्त परिचय दिने प्रयास मात्र यहाँ भएको छ ।

भाव सौन्दर्य, भाषाको प्रवाह परिष्कृतता र सुन्दर शैली, उनको लेखन विशेषता हो – समालोचनाको क्रममा पनि भावलाई गम्भीरतापूर्वक हेर्ने र भाषाप्रति सचेत भएर कलम चलाउने व्यक्तित्व हुन् मैनाली । शैलीको सौन्दर्य पक्षलाई पनि ध्यान दिएर कुनै पनि कृतिको विश्लेषण गरेको देखिन्छ । अभिव्यञ्जन निपुणता र भाव सम्प्रेषणको विषयमा गोपीजीको प्रारम्भको लेखमा भनिएको छ – “साहित्यकारले आफ्ना सिर्जनामा जीवनको वास्तविकतालाई प्रतिविम्बन गर्नुपर्छ, यो सफल अभिव्यञ्जना मूल्यका लागि हो । सिर्जना सर्जकको आफ्नै मनोसङ्कीर्णता– प्रकल्पनामा रङमङिएर वास्तविकतालाई भुल्न पुग्नुहुन्न । लेखकीय धर्ममा भाव सम्प्रेषण प्रथम महत्त्वमा सोचिन्छ ।”

हामीलाई महाकवि देवकोटाले सिकाएका छन् –कल्पनात्मक मानस नै प्रकृतिको सौन्दर्यपन गर्न सक्षम हुन्छ । अभिव्यञ्जनावादीको दृष्टिकोणसँग मेल खाने यो भनाइलाई समालोचक व्यक्तित्वले आत्मसात् गरेको देखिन्छ । उनी अध्ययनशील व्यक्तित्व हुन् र पूर्वीय–पाश्चात्य साहित्यका साथै नेपाली–हिन्दी साहित्यलाई पनि आत्मसात् गरेका व्यक्तित्व हुन् भन्ने प्रमाण प्रत्येक समालोचनाबाट प्रस्टिन्छ । पूर्वीय साहित्यभन्दा पाश्चात्य साहित्यसँग अत्यन्त निकट रहेर समालोचकीय दृष्टि प्रक्षेपण गरेको पाइन्छ । प्रत्येक विधालाई समालोचनात्मक दृष्टिकोण राख्ने क्रममा गोपीजीको तीन कुरामा विशेष ध्यान गएको छ – समालोचकको दृष्टिकोण छ – कवि, लेखक कलाकारहरू आफ्ना संवेदन क्षमताको तीव्रता र कल्पनाशीलताको माध्यम जसरी प्रकृति सौन्दर्यलाई देख्छन्, उसै गरी त्यसलाई आफ्नो काव्यानुभूतिमा मिसाउन, काव्यात्मक रूपमा पोख्न र पाठकको मानसमा विशिष्ट रसास्वाद गराउन सक्छन् । स्वानुभूतिको अभिव्यक्तिद्वारा रसास्वाद गराउने क्रिया सबैको उस्तै हुँदैन भन्ने कुरालाई दृष्टिगत गर्दा गोपीजीको समालोचनादृष्टिले व्यापकता पाएको छ ।

युगकवि सिद्धिचरण: कृति र प्रवृत्ति विश्लेषण समालोचना २०६८ सालमा आएको थियो, जो व्यक्ति विशेषमा लेखिएको थियो भने दोस्रो समालोचना कृति २०७९ साल अर्थात् दश वर्षको अन्तरालमा आउनु भनेको उहाँको लेखनमा शीघ्रताभन्दा पनि परिष्कृत दृष्टि देखिन्छ र अभिव्यञ्जना यात्राप्रति प्रकाशनमा ल्याउँदाको क्रममा उनको भनाइ छ – “यसको प्रकाशन गर्ने निधो झन्डै चार दशकअगि गरेको थिएँ ।”

यसबाट के देखिन्छ भने जति प्रशासनिक कार्यमा व्यस्त रहे पनि जागरूकता, अध्ययनशीलता, के गरौँ भन्ने छटपटी उनमा थियो, भइरहन्छ किनकि अहिले पनि यति व्यस्त छ कि समय निकाल्न गाहारो छ र अध्ययन–अध्यापनको चटारो छ । समालोचना सिर्जनामाथिको पुनर्सिर्जना भएकोले यसले व्यक्तिको सामर्थ्यलाई द्योतन गर्छ ।

यहाँ एकदेखि पाँचसम्मका लेख सैद्धान्तिक अभिव्यञ्जना दृष्टिकोण र नेपाली साहित्यमा देखिएको प्रभाव, गतिशीलता, भाव सम्प्रेषण, समाज सुधार र नवीनतम सन्देशलाई देखाएका छन् । यी गहन दृष्टिकोणका निबन्धात्मक शैलीका समालोचकीय दृष्टिकोण हुन् भन्ने लाग्छ । यीसहित नेपाली साहित्यका साधक व्यक्तित्व, पुरानादेखि नयाँसम्मका बत्तीस वटा समालोचकीय धारणा रहेका छन् ।

उनको लेखनमा लामो शीर्षक करण हुन्छ, आफ्नो दृष्टिकोण वा कृतिभित्रको सौन्दर्य पक्षलाई प्रत्येक शीर्षकले नै सङ्केत गर्छन् । समालोचना गर्दा विचार, समस्या र समाधान छ, छैन भनेर कृतिभित्र खोज्ने प्रयासका साथै तुलना पनि उनबाट हुने हुनाले साहित्यका सिवविधविधामा कलम चलाउने व्यक्तित्वहरूले वा कृतिकार एवं पाठकहरूले यस सङ्ग्रहभित्रका समालोचकीय धारणालाई राम्रोसँग पढिदिने हो भने केही आफूलाई पनि स्तरीय लेखनतर्फ उन्मुख हुन वा आफूmलाई सुधार्न सकिन्छ, भन्ने कुरालाई नकार्न सकिन्न ।

यो तीतो कुरा हो तर कृतिगत समालोचकको प्रयास जहिले पनि अझ राम्रो, सुललित र समाज सुधारक कृति आओस् भन्ने धारणा रहन्छ वा रहेको छ समालोचकीय दृष्टिमा । यस कृतिले यस्तै अनुभूति गराउँछ । उनको विशेषता भनेको नै तुलनात्मक दृष्टि अँगाल्नु हो र काव्य शास्त्रीको विचार राख्नुका साथै आफ्नो स्वतन्त्र विचार पनि दिनु हो । अर्थात् प्रस्तुत कृतिको भाव सौन्दर्य के हो ? भन्ने व्यापक धारणा अनुमान गर्न सकिन्छ, प्रत्येक समालोचकीय धारणाबाट ।

अभिव्यञ्जन धारणालाई समष्टिमा व्याख्या गर्दै – काव्य परम्परामा परेको प्रभावलाई हेरिएको छ । मृत्यु वृत्ति, आस्थाहीनता मूल्य निरुक्तता, मानस वृत्ति, जीवनको गतिलाई युवाजगत्ले बढी अँगालेको स्थिति रहेको लेखकको प्रवृत्तिलाई राम्रोसँग केलाइएको छ । उदाहरणमा – पसलको शोकेसभित्र राखेको काँचको चुराजस्तो जिन्दगी । (हरिभक्त कटुवाल)

अर्कोमा अभिव्यक्तिको सरलता, बोधगम्य र मान्यतालाई विभिन्न कोणबाट हेरिएको छ र जीवनको गतिशीलताभित्र साहित्यको इतिहास कोट्याउँदै विभिन्न आन्दोलनको प्रवृत्तिलाई बताइएको छ । अगाडिका – अभिव्यञ्जन निपुणता र भाव सम्प्रेषण: हाम्रो सन्दर्भ हाम्रै गतिशीलता, मृत्यु वृत्ति सलबलाएका आधुनिक कविता, नेपाली साहित्य कति सरल कति जटिल ?, नेपाली साहित्यिक आन्दोलन र समाज सुधारको सन्देश र साहित्य–समाज र परिवर्तन यी पाँच वटाले नेपाली साहित्यमा देखिएका (समय सन्दर्भमा) दृष्टिकोणलाई देखाएका छन् ।

देवकोटाको आशुकवित्व, स्वच्छन्दवादी अलौकिक प्रतिभाको र स्वच्छन्दधाराका प्रवर्तकको रूपमा व्याख्या गरिएको छ । बिपीको यौन मनोविश्लेषणात्मक प्रवृत्ति, यथार्थवादी कथाकार मैनाली, माधव घिमिरे, सिद्धिचरण, पारिजात, हृदयचन्द्रसिंह प्रधान, रमेश विकल, खगेन्द्र लुईटेल, कलानिधि, विजय चालिसे, तीर्थराज अधिकारी, नरेन्द्रराज पौडेल, श्रीहरि फुयाँल, हरि अधिकारी, मञ्जुल, सरुभक्त, बाजुराम पौडेल, सर्वज्ञ वाग्ले, गिरिराज आचार्य, प्रह्लाद पोखरेल, गोविन्द घिमिरे वेदमणि, अच्युत घिमिरे, लव गाउँले, हरारी, हरिभक्त कटुवालका कृतिहरूको विवेचन यसमा भएको छ । यहाँ हरेक स्रष्टाको आ–आप्mनै दृष्टिकोण र कृतिले दिने सन्देशलाई राम्रोसँग उतारिएको छ ।

यसरी आधुनिक नेपाली साहित्यका शिखर पुरुषदेखि हालसम्मका कवि, कथाकार, उपन्यासकार, व्यक्तिचित्र, निबन्धहरूको बारेमा गरिएको परिचर्चाले व्यक्तिचित्रभन्दा कृतिचित्रलाई मूल सिद्धान्त बनाएर गोपीजीबाट व्यापक दृष्टिकोणसहित विश्लेषण हुनुका साथै अत्यन्त प्रभावशाली भाव चिन्तन, गहिरो अध्ययन, परिष्कृत शैली, प्रमुख रूपमा तुलनात्मक दृष्टिकोणबाट समालोचना भएको छ ।

व्यक्ति विवरण केहीमा आएको छ (सर्वज्ञ वाग्ले, प्रह्लाद पोखरेल, अच्युत घिमिरे र हरिभक्त कटुवाल आदिमा) तर समालोचकको लेखन शैली भनेको विवरणभन्दा पनि कृतिभित्र रहेर अभिव्यञ्जनात्मक रूपमा व्यक्ति उपस्थित भएको अनुभव सर्वत्र हुन्छ ।

यसरी अत्यन्त प्रभावपरक दृष्टिकोणमा यो समालोचना सङ्ग्रह आएको छ । यसले हरेक पाठकलाई धेरै कुराहरूलाई अवगत गराएको छ । द्रष्टा व्यक्तित्व गोपी मैनालीजीको लेखन गतिमय छ, अझ अग्रगामी बनोस्, बधाईका साथ शुभ–कामना व्यक्त गर्दै यो सङ्क्षिप्त लेखन तथा कवितात्मक भनाइबाट विश्राम लिन्छु । विज्ञेषु किमधिकम् ।

प्रकाश पुञ्ज हुन् ‘गोपी’
दृष्टि छ सूक्ष्म उन्नत ।
यथार्थ–धारणाभित्र
लेखनी खुल्छ विस्तृत ।१।

देशका गहना स्रष्टा
विचार–निधि हुन् पनि ।
सम्मान सर्वदा गर्छु,
पूर्णतामा छ जीवनी ।२।

अभिव्यञ्जनको दृष्टि
सृष्टिको यो नियामक ।
प्रतीक साधनाको छ
देखिन्छ पूर्ण सार्थक ।३।

सृष्टि–सौन्दर्य हुन् स्रष्टा
द्रष्टाको सुविचारमा ।
पुनर्विचार सन्दृष्टि
व्यक्तिन्छन् अवधारणा ।४।

समदृष्टि भएको छ
सँगै छ तुलना पनि ।
समालोचकको धर्म–
व्यञ्जनाभित्रको ध्वनि ।५।

अभिव्यञ्जन–यात्रामा
‘गोपी’को अभिप्रेरणा ।
समीक्षण भएको छ
लेखकीय सुधारमा ।६।

धुम्बाराही काठमाडौँ ।