अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

असार ४ भित्र सबै आयोजनाहरुको म्याद नथपे निर्माणसम्बन्धि सबै काम ठप्प पार्ने व्यवसायीको चेतावनी

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:०७ मा प्रकाशित

निर्माण व्यवसायीहरुले सरकारले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् ।नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमती अनुसार सबै आयोजनाहरुको म्याद थप यही असार ४ गते भित्र नभए आफूहरु निर्माण कार्यनै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो ।

उहाँले विगत लामो समयदेखि आफूहरुले राख्दै आएको सो माग पूरा हुने गरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरुको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढन सरकारलाई फेरी पनि खवरदारी गर्नु परेको स्पष्ट पार्नु भयो । महासंघले निर्माण व्यवसायीहरुको माग सम्बोधन अव पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने पनि जनाएको छ ।

महासंघले नेपाल सरकारलाई आर्थिक भारलाई बढन नदिन र आयोजनाहरु अलपत्र हुने अवस्था आउन नदिन पनि निर्माण व्यवसायीहरुको सो माग सम्बोधन गर्न गम्भीर ध्यानाकर्षण गराउनु परेको बताएको छ । सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्दा, आयोजनाहरुको म्याद थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको पनि अध्यक्ष सिंहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू