अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

प्रधानमन्त्रीको भ्रमण र नागरिकता विधेयकबारे एमालेले समीक्षा गर्ने

बिआरटीनेपाल २०८० जेठ १८ गते ६:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि र राष्ट्रपतिबाट प्रमाणीकरण भएको विवादित नागपरिकता विधेयकबारे समीक्षा गर्ने भएको छ । त्यसको लागि एमालेले शुक्रबार केन्द्रीय सचिवालय बैठक राखेको छ । सचिवालय बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको उपलब्धि र राष्ट्रपति रामचन्द्र पौडेलले विवादित अवस्थामै प्रमाणीकरण गर्नुभएको नागरिकताबारे गहन छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

संवेदनशील विषयमा राष्टिय सहमति नजुटेको प्रकृया नपुगेको भन्दै यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुभएको नागरिकता विधेयक राष्ट्रपति पौडेलले विवादित अवस्थामै प्रमाणीकरण गर्नुभएको हो । लामो समयदेखि अन्योलपूर्ण अवस्थामा रहेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गर्नुभएको हो ।

एमालेका केही नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरीत रहेको टिप्पणी गरेका छन् । तर शीर्ष नेतृत्वले भने अहिलेसम्म यसबारे बोलिसकेका छैनन। कानुनविद्हरुले समेत प्रमाणीकरण संविधान विपरीत भएको तर्क गरिरहेका छन् । यहीबेला एमालेले प्रमाणित भइसकेको नागकिता विधेयकबारे छलफल गर्न लागेको हो । एमालेले सचिवालय बैठकपछि मात्र नागरिकता विधेयकबारे धारणा सार्वजनिक गर्ने भएको छ ।

बैठकमा पधानमन्त्रीको भारत भ्रमणको उपलब्धिबारे पनि बिस्तृत छलफल गर्ने योजना बनाएको छ । प्रधानमन्त्री दाहाल चारदिने भ्रमणको क्रममा भारतको दिल्लीमान हुनुहुन्छ । एमाले नेतृत्वले प्रधानमन्त्री दाहाललाई नेपालको नयाँ नक्शामा अडान लिन सुझाव दिएको थियो । तर प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा ‘अखण्ड भारत’को नाम दिएर नेपालको लुम्बिनी र कपिलवस्तुसहित नक्शा सार्वजनिक गरेको छ । भारतको यस्तो कार्यप्रति नेपालमा अहिले विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । सचिवालय बैठकमा एमालेले यसबारे पनि छलफल गर्ने भएको छ । एमालेले सचिवालय बैठक शुक्रबार बिहान ११ बजेको लागि बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू