अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

भूराजनीतिक तनाव अन्त्यका लागि भारतीय प्रधानमन्त्री मोदीको आह्वान

बिआरटीनेपाल २०७९ फागुन १८ गते ७:२५ मा प्रकाशित

विश्वका ठूला अर्थतन्त्रहरूको समूह जी–२० सदस्य देशका विदेश मन्त्रीस्तरीय बैठक भारतमा सुरु भएको छ ।बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी–२० सदस्य देश एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको भूराजनीतिक तनाव समाधान गर्न एकताबद्ध हुन अपिल गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी–२० लाई आशा र भरोसाका साथ हेरेको बताउनुभयो ।विश्वव्यापी विभाजनको समयमा भएको विदेश मन्त्रीहरूको बैठक भूराजनीतिक तनावबाट प्रभावित हुनु सामान्य भए पनि यो तनाव कसरी समाधान गर्ने भन्नेबारेमा आफूहरूबीच पृथक अडान र दृष्टिकोण भए पनि एकताबद्ध भएर त्यसलाई अन्त्य गर्नेतर्फ लाग्नु उचित हुने मोदीले बताउनुभयो ।

उहाँले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गर्नुभयो । यस आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो ।

बैठकका अध्यक्ष भारतीय विदेश मन्त्री एस जयशङ्करले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवर्धनमा जोड दिनुभयो । उहाँले खाद्य र ऊर्जा सुरक्षा चिन्ताको विषय भएको बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गर्नुभयो । विश्व अर्थतन्त्रका लागि ती महत्त्वपूर्ण विषय भएकाले त्यहीअनुसार व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू