अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

नाइजेरियाको राष्ट्रपतिमा सत्तारूढ दलका बोला टिनुबु निर्वाचित

बिआरटीनेपाल २०७९ फागुन १७ गते ७:०१ मा प्रकाशित

नाइजेरियामा सत्तारूढ दल अल प्रोग्रेसिभ कंग्रेसका उम्मेदवार बोला टिनुबु ८७ लाख ९४ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गर्नुभएको आयोगले जनाएको छ । नेता अबुबाकरले ६९ लाख ८४ हजार मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख मत पाउनुभएको राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमूद याकुबुले बताउनुभएको छ ।

यो चुनाव नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिण–पश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर हुनुहुन्छ । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उहाँले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताउनुभयो । उहाँले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाअनुसार राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

निवर्तमान राष्ट्रपति मुहम्मदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताउनुभयो । राष्ट्रपति बुहारीले सुव्यवस्थितरूपमा टिनुबु र उहाँको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ । बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू