अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

अब अन्य घुस प्रकरण पनि सार्वजनिक हुँदै जान्छन्-मन्त्री किराती

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:२१ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू पनि सार्वजनिक हुँदै जाने बताउनुभएको छ ।शुक्रवार काठमाण्डौमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायु सेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनुभयो । महाप्रबन्धक ठाकुरले थाई स्माइल एअरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ रुपैयाँ घुस लिने गरेकाले निलम्बन गरेको उहाँले बताउनुभयो । उहाँले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।

मन्त्री किराँतीले कोही घुस खानका लागि मन्त्री हुन आए उसलाई नागरिकले सजाय दिने बताउनु भयो । उहाँले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मन्त्रीले पैसा खाँदैन । ढुक्कसँग काम गर्नुस् । विमानस्थलको महानिर्देशकलाई भर्खरै निलम्बन गरेर आए । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ । पैसा खानका निम्ति मन्त्री आएको हो भने नागरिकले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाईँहरूले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् ।’

मन्त्री किरातीले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताउनुभयो । उहाँले विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताउनुभयो । उहाँले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख गर्नुभयो । पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको उहाँको भनाइ छ । मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिनुभयो । उहाँले पर्यटन प्रवर्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री किराँतीले कर्मचारीलाई हेरफेर गरेर आतङ्कित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारीले कार्ययोजनाअनुसार काम आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू