अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

टर्कीमा भूकम्प गएको ९० घण्टापछि नवजात शिशु र उनकी आमाको उद्धार

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:१९ मा प्रकाशित

टर्कीमा भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशु र उनकी आमाको उद्धार गरेको बीबीसीले जनाएको छ ।सामाजिक सञ्जालमा प्रसारित भिडिओमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको र उनकी आमालाई स्ट्रेचरमा राखेर लगिएको देखिएको छ । आमा छोराको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त भएको छैन । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो । ती बालिकाको अवस्था अहिले स्थिर रहेको बीबीसीले जनाएको छ ।

टर्कीमा भूकम्प गएको चार दिन भएको छ । अत्यन्तै चिसो मौसमको बीचमा भग्नावशेषमा पुरिएकाहरू जीवितै फेला पार्ने आशा घट्दै गएका छन् । तर पनि टर्की र छिमेकी सिरियाको प्रभावित क्षेत्रमा खोजी र उद्धार भइरहको छ । टर्कीमा सोमवार बिहान सात दशमलव आठ रेक्टर स्केल र दिउँसो सात दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघिसकेको छ । टर्की र सिरियाका दशौँ हजार मानिस भूकम्पका कारण घरविहीन भएपछि अत्यधिक चिसोमा अस्थायी आश्रयस्थलहरूमा चौथो रात बिताइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यदि जीवितहरूले तत्काल आश्रय, खाना, पानी र औषधि नपाएमा दोस्रो मानवीय प्रकोप आउन सक्ने चेतावनी दिएको छ । यसैबीच सिरियामा पनि अन्तर्राष्ट्रिय सहायता पुग्न थालेको छ । राहत सामग्री बोकेका संयुक्त राष्ट्र सङ्घका छ वटा लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सिरियामा राहत सामग्री पुुर्याउन ढिला भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू