अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

रुसले आन्द्र र भारतीय महासागरतर्फ पठायो हाइपरसोनिक क्षेप्यास्त्रसहितको युद्धपोत

बिआरटीनेपाल २०७९ पुष २१ गते ६:२५ मा प्रकाशित

रुसले हाइपरसोनिक क्रुज क्षेप्यास्त्रसहितको पानी जहाज आन्द्र महासागर र भारतीय महासागरतर्फ पठाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हजार किलोमिटर परसम्म मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रसहितको ‘एडमिरल गोर्शकोभ’ नामको पानीजहाज आन्द्र महासागर र भारतीय महासागरमा तैरिने गरी पठाउनु भएको हो ।

युक्रेन युद्ध झन् चर्किंदै जाँदा रुसले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्नका लागि यस्तो कदम चालेको विश्लेषण गरिएको छ ।पानी जहाजमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली जिरकोन रहेको जानकारी दिँदै पुटिनले मातृभूमिको सेवामा सफलताको कामना गर्नुभएको थियो ।

युद्धपोत आन्द्र महासागर, भारतीय महासागर र भू–मध्य महासागरमा तैरिने र यसबाट जल र थलमा शत्रुहरु विरुद्ध एक हजार किलोमिटरसम्म निशाना लगाउन सकिने रुसी रक्षामन्त्री सर्गेइ सोइगुको भनाइ छ । रुस विरुद्धको धम्कीको सामना गर्ने र क्षेत्रीय स्थायित्वका लागि मित्र देशहरुलाई आश्वस्त पार्नका लागि यो युद्धपोत पठाइएको तर्क पनि उहाँको छ । हाइपरसोनिक क्षेप्यास्त्रको गति आवाज भन्दा पाँच गुणा छिटो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू