अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएको इजरायली सेनाको घोषणा

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:१५ मा प्रकाशित

इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो ।रातभरको हमलामा २० जना हमास लडाकु मारिएको र तीन वटा सुरुङ भत्किएको इजरायलले जनाएको छ । प्रत्यक्षदर्शीले रातभर इजरायली सेनाले अन्धाधुन्ध मिसाइल र बम हानेको बताएका छन् । हिजो भाग्न नसकेका कैयाैँ नागरिक पनि मारिएको शङ्का छ । पूर्वी रफाहका धेरैजसो घर भत्किएका छन् । इजरायली झण्डा फहराउँदै सैनिक ट्याङ्क अहिले रफाहमा घुमिरहेका छन् ।

इजिप्टको सीमा नजिकै रहेको रफाह क्रसिङ अब इजरायली नियन्त्रणमा आएसँगै मानवीय सहायताका सामग्रीको आपूर्ति ठप्प भएको छ । रफाह क्रसिङ नै अहिलेसम्म सहायता सामग्री पुर्‍याउने एकमात्र मार्ग थियो । गाजाबाट विस्थापित भएका झन्डै १५ लाख जना शरणार्थी रफाहमा रहेकाले त्यहाँ आक्रमण नगर्न विश्वव्यापी दबाब रहे पनि इजरायलले पूर्व रफाहबाट आक्रमण थालेको हो ।हिजो हमासले युद्धविरामका लागि सर्तहरू पालना गर्न सहमत भएको बताएपछि पनि इजरायलले आक्रमण गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सी यूएनआरडब्ल्यूएले इजरायली सेनाले रफाह क्रसिङ कब्जा गरेपछि सहायता सामग्रीको चरम अभाव हुने चेतावनी दिएको छ । पछिल्लो ४८ घण्टादेखि सहायता सामग्री बोकेका गाडी रफाह प्रवेश गर्न नपाएको भन्दै यूएनआरडब्ल्यूएले नसोचेको दुर्भाग्य भोग्नुपर्ने चेतावनी दिएको छ । एजेन्सीकी प्रवक्ता लुइस वाटरिजले गाजाका नागरिकको स्वास्थ्यमा खतरा रहेको बताउँदै इजरायलले न्यूनतम मानवीयताको ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू