अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

स्पेनिस पूर्वखेलाडी रूबेन डेला रेड र युलियो सालिनाससहितकाे टोली नेपालमा

बिआरटीनेपाल २०७९ पुष १२ गते ५:३९ मा प्रकाशित

स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्वखेलाडी रुबेन डेला रेड र युलियो सालिनाससहितको टोली मैत्रिपूर्ण खेलका लागि मंगलबार नेपाल आएको छ । रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रिपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । क्रिसमस मनाइसकेपछि नयाँ वर्ष भन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले सोमबार बिदाइ गरेकी थिइन् ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ ।गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ । यसैगरी राष्ट्रिय टिमका अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्ने छन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । ६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यवसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए । एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोना जस्ता ठूला क्लबहरुबाट खेलिसकेका सालिनासले सन् १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

सन् १९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए । उमेर समूहमा उनले स्पेनको राष्ट्रिय टिमबाट सन् २००४ मा १९ वर्ष मुनिको युरोपियन च्याम्पियनसिप पनि जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू