अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

कतारको घुस लिएको आरोपमा युरोपेली संसदका उपाध्यक्ष बर्खास्त, युरोपकै खराब घटनाको रुपमा व्याख्या

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:४८ मा प्रकाशित

कतारले आफ्नो प्रभाव जमाउन युरोपेली संसदका उपाध्यक्षसहित सांसद र अधिकारीहरुलाई घुस दिएको खबर बाहिरिएको छ । कतारले युरोपको आर्थिक र प्रशासनिक नीतिमा आफ्नो प्रभाव जमाउन घुस खुवाएको आरोप लागेपछि युरोपभर खलबली मच्चिएको बीबीसीले जनाएको छ । कतारको घुस लिएको आरोपमा बेल्जियम प्रहरीले युरोपेली संसदकी उपाध्यक्ष इभा काइलीसहित चार जनालाई पक्राउ गरेको छ । चारै जनालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

कतारको घुस लिएको आरोप लागेकोहरुबाट बेल्जियम प्रहरीले ६ लाख युरो बरामद गरेको छ भने उनीहरुका कम्प्युटर र मोबाइल पनि जफत गरेको छ । विपक्षी सांसदहरूले घुसखोरीको यो घटना युरोपको इतिहासकै खराब घटनाको रुपमा बाहिर आएको भन्दै चिन्ता जनाएका छन् । युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले पछिल्लो घटनाले युरोपियन लोकतन्त्र आक्रमणमा परेको चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यस्तै, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोनडर लेनले आरोपहरू धेरै गम्भीर भएकोले छानबिनको लागि शक्तिशाली आयोग गठनको प्रस्ताव गर्नुभएको छ । कतारले भने युरोपेली देशको आरोपको कडा विरोध गर्दै यस्ता दाबी र आरोपलाई गम्भीर रुपमा नलिने जनाएको छ । युरोपका २७ वटा देशका मतदाताहरूद्वारा निर्वाचित संसदका ५ सय ७ जना सदस्यहरू मिलेर ईयू संसद बन्ने गरेको छ । युरोपेली संसद ईयूको एक मात्र प्रत्यक्ष निर्वाचित संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू