अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 16:43

अबकाे २ वर्षपछि नेपालले बिजुली किन्नु पर्दैन : कुलमान घिसिङ

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:५४ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनुभएको छ । आज बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताउनुभएको हो । उहाँले नेपालमा उत्पादन भएको बिजुली नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पो भइरहेको बताउनुभयो । बिजुली खपतका लागि चार्जिङ स्टेशन विस्तार र इन्डक्शन चुलोलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनका लागि ईभी एक्स्पोदेखि ईभीको प्रमोशन भएको छ । चार्जिङ स्टेशनहरू बढेको छ । प्राधिकरणले इन्डक्शन कुकिङको कुरा गरिरहेको छ  । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छ ।’

घिसिङले विद्युत् प्रसारण, वितरण र सब–स्टेशनको विकास नभइ बिजुली खपत बढाउन नसक्ने पनि बताउनुभयो । उहाँले प्राधिकरण गुणस्तरीय बिजुली र चाहे जति बिजुली वितरण गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताउनुभयो । गाउँ–गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । उहाँले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताउनुभयो । उहाँले बिजुली खपत बढाएमात्रै देशमा समृद्धि आउने भन्दै एक युनिट बिजुली पनि खेर फाल्नु नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू