अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

दाइजो

गोपीराम भण्डारी 'बटुवा' २०७९ मंसिर १४ गते १४:५७ मा प्रकाशित

“अपराधको कुन्यूमा राजनीति र विद्वताको लेपन लगाएर समाजमा अपराध र अराजकता बढाइरहेका तिघ्रेहरूलाई उन्मुक्ति दिने मतियार ,प्रशासन नबनोस् । तत्कालै कारबाही होस् । यदि कारबाही भएन भने ,यहाँ जे पनि हुन सक्छ” । आक्रोशित महिलाले उजुरीको फाइल प्रहरीको टेबुलमा पछार्दै भनिन । प्रहरीले पुलुक्क मुखमा हेर्‍यो र फाइल अध्ययन गर्‍यो ।

एउटा गाडी दाइजो सहित एक करोड खर्चिएर गरेको विवाह सुखमय बन्न सकेन । विवाह पूर्वको प्रेम, दाइजोकै कारण विवाह पश्चात् हिंसामा रूपान्तरण भयो । पारिवारिक सल्लाहमै भएको विवाह ,बि–वाह ! बन्यो । मुफतको धन र लालसाले डढेको मनका कारण प्रेम, इज्जत र सामाजिक सद्भावमा डढेलो लागेको तथ्य नै उजुरीको निचोड थियो ।

घरेलु हिंसा, ईर्ष्या र मनमुटाबको बढ्दो रूप नै हत्या हिंसा, बलात्कार र एसिड प्रहार जस्ता जघन्य अपराध हुने तथ्य बुझेको अधिकृतले प्रारम्भ मै नियमन गर्ने हेतुले अभियुक्त पक्राउको लागि प्रहरी खटायो ।

केही बेरमै एक हुल मान्छे उजुरी दर्ता गर्ने अधिकृत समक्ष दुवै हात जोडी माफी माग्दै भनिरहेका थिए “सर जी घरको सवाल छ, गल्ती भइहाले छ, मिलाप गराइदिनुपर्‍यो । थोडा बहुत भ्रमकै कारण, गरम बढेछ”। प्रहरीले आश्चर्य मान्दै भन्यो ,”तपाईँको कुरै बुझिन मैले” ।

भलाद्मी जस्तो देखिने व्यक्तिले उजुरी दर्ता गर्ने महिलालाई देखाउँदै भन्यो, “उही हजुर ! अघि ओ मैडमले दर्ता गरेको उजुर, छ हजुर”। प्रहरीले प्रश्न गर्छ “अघि जे पनि हुन सक्छ भनेको तपाईँले होइन ? महिलाले लुरुक्क परेर भनिन्, “मैले भनेकै हो नि, जे पनि हुनसक्छ ! मेल-मिलाप भइसक्यो मिलापत्र गरिदिनुस् । “तपाइलाई जे मन लाग्छ , त्यही हुन्छ ? सहमतिमा संस्कार,विमतिमा अपराध ? प्रहरी जङ्गियो ।

पीडित भनेकी युवतीले हात जोड्दै भनिन्,“सर मेरो घरबार र जीवनको बात छ,बिचौलियाले दिमाग फ्राई गरिदिए सर, प्लिज !” प्रहरीले सान्त्वना दिँदै भन्यो “डर र प्रभावमा नपर्नुस्, प्रहरी तपाइको भलो चाहन्छ ” ।

युवतीले माफी माग्दै भनिन् “सर जी एक बार !—-”नदुखेको टाउको चोयाले किन बाध्थ्याे र ? प्रहरी पनि। उनीहरू प्रहरीको निगरानीमा बस्न मन्जुर गरी मिलापत्र गरेर निक्लिए । केही बेरमै एउटा बच्चाले एउटा पोको भुइमा राख्दै भन्यो, “सर जी मुखिया जी ने भेजा है” । प्रहरीले सोध्यो “के हो यो “? बच्चाले चिच्याउँदै भन्यो,”आगे वाला केस कि दहेज है” । संस्कार बनेको कुसंस्कारले काहीँ कसैलाई छोडेन थुक्क ! भन्दै प्रहरी जुरुक्क उठ्यो । “अरे ! बाफरे बाफ ,हम मरगइल” भन्दै बच्चा सुई कुच्चा ठोक्यो । बच्चाले राखेको दहेजको पोकोले तीन भल्ट्याङ पल्टिएर प्रहरीलाई निरन्तर घुरेर हेरिरह्यो ।