अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

”राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ” – प्रचण्ड

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका क्रममा एजेन्डा विहीनरुपले देशलाई आवेगमा र मानिसलाई भावावेशमा भ्रमित पार्ने संकेत देखा परेको बताउनुभएको छ । शुक्रबार गोरखामा आयोजित धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिस्थितिलाई लिएर राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताउनुभयो। हालै सम्पन्न निर्वाचनका क्रममा विचार, सिद्धान्त, मुद्दा र एजेन्डा जे भनिएपनि आवेग र भावावेशमा देश र जनतालाई कहीँ न कहीँ भ्रमित पर्ने संकेतहरु देखा परेको उहाको भनाई

संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको प्रचण्डले आरोप लगाउनुभयो । कसैलाई दोष र आलोचना र आरोपतिर लगिएको उल्ल्ेख गर्दै उहाँले यो सवैका लागि चुनौती रहेको उहाँले बताउनुभयो । राजनितिक परिवर्तन र जनताको अधिकारका लागि तथा नेपाल सार्वभौमसत्ता नगारिक बनाउन लडेका दलहरुमाथि यस्तो चुनौति थपिएको प्रचण्डको भनाई छ ।

निर्वाचन पछिको परिस्थितिले विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा परेको उल्लेख गर्दै उहाँले मूल्य मान्यता र राजनीतिक एजेन्डा अवमूल्यन हुने खतरा देखा पर्‍यो भनेर राजनितिक नेतृत्वले सोच्नुपर्ने अवस्था आइलागेको बताउनुभयो । नेपाली जनताको अधिकारको सुरक्षाका लागि अन्तिम समयसम्म प्रयास र संघर्ष गर्ने पनि अध्यक्ष प्रचण्डको भनाई छ ।

अहिले नै सबै बर्बादै भयो भन्ने केही पनि नरहेपनि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनका लागि जनतमा समर्पित नीति, योजना र कार्यक्रम लिएर अघि नआउदाको अवस्थामा भने देश अप्ठेरोमा पर्न सक्ने तर्फ उहाँले संकेत गर्नुभएको छ । ७५ वर्षदेखि प्राप्त गरेको ‘लोकतान्त्रिक अधिकारको रक्षा’ र गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने पनि प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू