अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

प्रधानमन्त्री कप : विभागीय टोली नेपाल पुलिस क्लब समूह सेमिफाइनलमा

बिआरटीनेपाल २०७९ कार्तिक २२ गते ६:०३ मा प्रकाशित

विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो । पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि मोहमद आदील आलमले सर्वाधिक ४२ रन जोडे । मधेशलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । करण केसीले ३ तथा राशिद खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । मधेशका रुपेश सिंह र राजेश यादवले ३/३ विकेट लिए । आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

आर्मीले दिएको २ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट १ सय १४ रन मात्र बनाउन सक्यो । कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाए । आर्मीका रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित रहदै सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल र रोहित पौडेलले समान ३५÷३५ रन जोडे । कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए । यस जितसँगै आर्मीले समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू