अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

आइफोन पठाउन सकिन यार

शान्तिदीप रायमाझी २०७९ कार्तिक १९ गते २०:४८ मा प्रकाशित

नेपालाँ हुँदा म नि सोच्थें
विदेशाँ त बस्दा नि पैसो हुन्छ
उठ्दा नि पैसो हुन्छ
जता जे गर्‍यो  पैसैपैसो हुन्छ
जताकतै सहर, न गाउँ हुन्छ
लाखौँ कमाइ हुने मात्र ठाउँ  हुन्छ

हुन नि
दुःख गरेँ
आएँ
नसोध्नु काम के समाएँ
सोचें उताको दाँजोमा
केही कमाएँ
तर खर्च उस्तै
डलर खाने
डलर जाने
गन्दै जाँदा
खै के पो बँचाए ?

आइफोनको कुरा त गर्‍यौ साथी
यो परदेश
देख्दा झिलमिली मात्र हो
बच्दैन् केही
रित्तो खल्तिको यात्रा मात्र हो
सबै आफन्तको आसको केन्द्र म
विदेशमा भएको ‘चन्द्र’ म
उसले हेर्छ
देख्छ
मनकारी छ भन्छ्न् उता गाउँमा मलाई
क-कसलाई हेर्नु
देख्नु
यो एक्लो ज्यानको कमाइ !!!

अर्काको देश
अर्काको भेष
अर्कै परिवेश
आरोह अवरोह हुन्छ
तिमी फेसबुक हेर्छौ
विकेण्डका फोटा हेर्छौ
समुन्द्र, महल देख्छौ
तिमी त यहाँ डलरको रुख मात्र देख्छौ
समृद्धि, सुख मात्र देख्छौ
शहरभित्रका अनकन्टार ठाउँ देख्दैनौ
लुगाले छोपेको यो घाउ देख्दैनौ
के भनूँ यहाँ
तिमीले सोचे जस्तो छैन संसार
कसरी पठाउँ भन त आइफोन यार ?

तिमी मलाई मात्र देख्छौ
म यताबाट धेरैलाई देख्छु
आशैआशका पहाड देख्छु
जसलाई हेर्‍यो
स्मार्ट वाच
आइफोन
आइ प्याड  देख्छु
नपठाउँदा सबै ‘स्याड’ देख्छु

थाहा छ मलाई
देश आउँदा
धेरैको ‘लगेज’तिर आँखा हुन्छ
सबैलाई आशा हुन्छ
कसलाई हेर्नु
कसलाई छोड्नु
सबैलाई पुराउन सक्ने कुरा भएन
सरी साथी !
मबाट आइफोन सपना पूरा भएन

बरु
दुःख गर
पसिना बगाऊ
स्याउका बोट लगाऊ
त्यसैमा ‘एप्पल’ फलाऊ
पैसा कमाऊ
आइफोन समाऊ

आफ्नो कमाइमा माया हुन्छ
अपनत्व, साथ हुन्छ
स्याहार सुसार, हिफाजात हुन्छ
सोच त,
तिमीले आफूले आफूलाई मात्र गरे पुग्छ
मैले धेरैलाई गर्नु पर्ने हुन्छ
फलानोलाई भयो मलाई भएन भन्ने सुन्नु पर्ने हुन्छ
पक्षपात गरे झैँ हुन्छ
के गर्नु यस्तै यस्तै भो यार
खै हुन सकिन कि म जिम्मेवार !
सरी साथी !
पिर नमान यार
आइफोन पठाउन सकिनँ यार !
आइफोन पठाउन सकिनँ यार !!