अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

जित-हार

शान्तिदीप रायमाझी २०७९ मंसिर १४ गते १४:५९ मा प्रकाशित

यहाँ
जित हुन्छ
हार हुन्छ
यस्तै हो सार
सुख दुःख संसार हुन्छ ।

कहिले फूल माला अबीर हुन्छ
कहिले झुकेको शीर हुन्छ
रोजाइ एउटा हुन्छ
भोगाइ अर्को हुन्छ
परिकार कहिले बिल्नो त
कहिले चर्को हुन्छ ।

यहाँ
सोचेको हुन्छ
कहिले नसोचेको मिल्छ
चक्र हो समय घुम्छ
तल छाड्छ
कहिले माथि पार्छ
असफलता त
कहिले सफलताको फल झार्छ ।

यहाँ
हर्ष हुन्छ
बिस्मात हुन्छ
हुन दुबै हुन्छ
फरक यत्ति त हो
कहिले ढिलो हुन्छ
कहिले झट्ट अकस्मात हुन्छ ।

जब आकाशमा हेर्छौं
देख्छौं
जून निदाउँछ
रवि उदाउँछ
दिन हुन्छ
रात रुन्छ
पुनः शुभ प्रभात हुन्छ ।

यहाँ
हर दिन
हर पल जहिले खेल हुन्छ
कहिले कतै पास हुन्छ
कतै फेल हुन्छ
जिन्दगी हो चल्छ, रेल हुन्छ ।

वार कहिले पार
कहिले हार
कहिले ‘स्टार’
कहिले पहाड
कहिले बेसी टार
यस्तै हो सार
यस्तै नै हो संसार
यस्तै नै हो संसार ।।