अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

वाम लोकतान्त्रिक गठबन्धन १/२ दिनको यात्रा होइन : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७९ कार्तिक ७ गते ३:४९ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन एक/दुई दिनका लागि नभएकाे जिकिर गर्नुभएकाे छ । वाम लोकतान्त्रिक गठबन्धनको बाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सोमवार सम्बोधन गर्दै उहाँले गठबन्धनको संयुक्त सहकार्य र अभियान आउँदा दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

‘यो एक दिन, दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएको हुनाले गाउँ, टोल, बस्ती–बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले निकै ठूलो चुनौतीको सामना गरेर आफूहरू अगाडि बढेको उल्लेख गर्दै संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको बताउनुभयाे । पार्टी र नेतामा देखापरेको अहमका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरूले विद्रोह गरेको उहाँले बताउनुभयो । गणतन्त्रको आन्दोलनमा पनि कम्युनिस्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको उहाँको टिप्पणी थियो ।

न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन उहाँले आग्रह गर्नुभयो । नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू