अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

कांग्रेसभित्र असन्तुष्टि देखिएपछि समानुपातिक उम्मेदवार सूची हेरफेरको तयारी

बिआरटीनेपाल २०७९ असोज ११ गते २१:१० मा प्रकाशित

नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ। संस्थापनइतर (शेखर कोइराला-गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायतले भेला गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। मंगलबार बालुवाटारमा देउवाले सबैसँग छलफल गरी समानुपातिक उम्मेदवार सूची हेरफेर गरेर जान सकिने बताएको एक नेताले बताएका छन् ।

सभापति देउवासहित कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेबारे आज पनि छलफल गर्ने तयारीमा रहेको बताईएको छ । यसैबीच संस्थापनइतर समूहले भने आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने तयारी गरेका छन्। बिहीबार बत्तिसपुतलीमा चियापान गर्ने र शुक्रबारसम्म पनि समानुपातिक सूची संशोधन नगरिए बालुवाटारमा धर्ना दिने तयारी असन्तुष्ट समूहको छ।

सभापति देउवा पक्षले कोइराला पक्षलाई ४० प्रतिशत भाग नदिएको आरोप छ। ११० जना प्रतिनिधि सभा सदस्य उम्मेदवारको नाम बुझाउँदा करिब १४ जनाको नाम मात्रै कोइराला पक्षबाट राखिएको र त्यो परामर्शविनै राखिएको भन्दै संस्थापनइतर नेताहरूले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू