अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो : अध्यक्ष भट्टराई

बिआरटीनेपाल २०७९ असोज ९ गते ७:०८ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताउनुभएको छ । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभइ नहुने भन्दै संघीयतामा गएपनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताउनुभयो । अध्यक्ष भट्टराईले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गर्नुभयो ।

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने सुुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताउनुभयो । अध्यक्ष भट्टराईले नेपालमा राष्ट्रिय अनुसन्धान कोष छुट्टै स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू