अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास जारी छ : प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७९ असोज ४ गते ७:०१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।प्रधानमन्त्री देउवाले सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताउनुभयो ।

उहाँले कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै कोरोना र डेंगुबाट निधन भएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनैपनि समस्या समाधानका लागि सामुहिक प्रयत्न र सहकार्यको आवश्यक्ता गर्ने उल्लेख गर्नुभयो । उहाँले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू