अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

नेपालभित्र नै विद्युत खपत गर्ने प्राधिकरणको पहिलो प्राथमिकता : निर्देशक घिसिङ

बिआरटीनेपाल २०७९ असोज ४ गते ६:४९ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताउनुभएको छ ।मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।उहाँले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गर्नुभयो ।

घिसिङले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पु¥याउने बताउनुभयो । घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गर्नुभयो । उहाँले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताउनुभयो ।घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा १ युनिट विद्युतको करिब १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताउनुभयो ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गर्नुभयो । उहाँले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताउनुभयो । घिसिङले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिब ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताउनुभयो । उहाँले विद्युत कम मूल्यको खपत भएपनि धेरै मूल्य बराबरको आयातलाई कम गराउनसक्ने बताउनुभयो ।

उहाँले अब विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चालाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । घिसिङले निजी क्षेत्रले चाजिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले आफ्नै लागतमा विद्युत र ट्रान्सफर राखिदिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू