अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

पाकिस्तानमा बाढीमा परी गत २४ घन्टामा थप ५४ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:२९ मा प्रकाशित

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गत २४ घन्टामा ५४ जनाको मृत्यु भएको छ ।बाढीमा परी अरु थुप्रै व्यक्ति घाइते भएका छन् । बितेका दुई महिनामा पाकिस्तानमा १ हजार ४ सय ८१ को बाढीबाट ज्यान गएको बताइएको छ । बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ ।

सिन्धमा मङ्गलबार मात्र ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ । यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबारविहीन भएर आश्रय लिइरहेका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन् । बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू