अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

आउँदाे चुनाव एमालेले हार्नै मिल्दैन : अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ साउन २० गते ७:२५ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीले हार्नै नमिल्ने तर्क गर्नुभएकाे छ । आफ्नो पार्टीले त्याे चुनाव हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आज शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आउँदाे चुनाव जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनु भयो । सत्तारूढ गठबन्धन र त्यसका नेताहरूले देशलाई दुरगतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा विजयी हुनुको विकल्प नभएको बताउनुभयाे ।

अध्यक्ष ओलीले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले सङ्गठित ढङ्गले इमानदार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो । पार्टीको सरकार नढल्नका लागि पनि आउँदाे चुनावमा बहुमत चाहिने र त्यसका लागि इमानदार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरूले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने आकाङ्क्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोड्ने दृढतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू