अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

साफ महिला फुटबल च्याम्पियनसिपको तयारी तीव्र

बिआरटीनेपाल २०७९ साउन ९ गते ७:३८ मा प्रकाशित

आगामी भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबलको तयारी तीव्र पारिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजनाको लागि विभिन्न समिति गठन गरेर तयारी तीव्र पारेको हो । प्रतियोगिताको लागि नेपाली टोलीको प्रशिक्षण आज सोमबारदेखि सुरू हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९औं एशियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणमा ६ जना गोलरक्षक, २० डिफेन्डर, २० मिडफिल्डर र १२ फरवार्ड रहेका छन् । नियमित कप्तान रेनुका नगरकोटे भने चोटका कारण टोली बाहिर छन् । एन्फाले महिला टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई पुनः जिम्मेवारी दिएको छ ।त्यस्तै एन्फाले व्यवस्थापकमा बिन्द्रा देवानलाई नियुक्त गरेको छ । प्रतियोगिताका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष बिरबहादुर खड्कालाई मुख्य संयोजक तोकिएको छ । त्यस्तै रबिन्द्र चन्द भेन्यु म्यानेजर, विजय घले लोकल जनरल कोअर्डिनेटर तथा दिनेश व्यन्जनकार सुरक्षा प्रमुख रहने भएका छन् । संजिव शिल्पकारले मार्केटिङ, ब्रोडकास्ट र डिजिटल राइट्सको जिम्मेवारी लिने भएका छन् ।

प्रतियोगिताका खेलहरू दशरथ रंगशाला हुने सम्भावना रहेको छ । आयोजक नेपालसहित ७ राष्ट्रले प्रतियोगितामा भाग लिन पाउने भएका छन् । पाँच पटकको विजेता भारत प्रतियोगिताको स्वभाविक दावेदार हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू