अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुनेछ : वामदेव गाैतम

बिआरटीनेपाल २०७९ असार १४ गते ७:५२ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ । आज काठमाण्डाैमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गाैतमले यस्तो बताउनुभएको हो । उहाँले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनुभयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलन धराशायी भइरहेको छ । मैले निर्माण गरेको पार्टी, मैले नै सुरु गरेको आन्दोलन धराशायी हुनसक्ने स्थिति देखिएकाेले मैले आज शिलान्यास गरेको पार्टी उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ ।’गाैतमले आफू अहिलेसम्म गएका पार्टीहरू सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीमा नातेदारहरूलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिस्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताउनुभयो ।

सदस्य गौतमले गएकाे पालिका चुनावमा कम्युनिस्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्छ एक नहुने हो भने आउँदाे चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले आउँदाे पाँच वर्ष कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यकता नपर्ने अवस्था बन्दै गएको टिप्पणी गर्नुभयाे ।

सदस्य गौतमले नेपाली कांग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले एकीकृत भएको कम्युनिस्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव रहेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरि पाँच/दश वटा सङ्गठन आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू