अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

‘माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच छ’-माओवादी केन्द्र

बिआरटीनेपाल २०७९ असार १४ गते ७:२१ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का नेताहरूले माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच रहेको बताएका छन् ।मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनीहरूले संघीयता प्रति नकारात्मक माथिल्ला तहका कर्मचारीलाई संघीयतबारे प्रशिक्षण दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताउनुभयो । तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको भन्दै उहाँले साँचो अर्थको संघीयता दुई तहको हुने र स्थानीय तह प्रदेशको मातहतमा रहने जिकिर गर्नुभयो ।नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रिय सभाका पूर्वसांसद रामनारायण बिडारीले माथिल्लो तहका कर्मचारीहरूमा संघीयताप्रति नकारात्मक सोच रहेको बताउनुभयो । उहाँले माथिल्लो तहमा रहेका कर्मचारी तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको संघीयता प्रदेशहरूका कारण असफल हुनसक्ने तर्क गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसांसद दिनानाथ शर्माले सिंहदरबार संघीयताको पक्षमा नरहेको उल्लेख गर्दै सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान अनुरूप प्रशासनिक र न्याय क्षेत्रको पुनःसंरचना हुन नसक्दा संघीयता कार्यान्वयनमा समस्या पैदा भएको बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरु संघीयताप्रति प्रतिवद्ध र संघीयताप्रतिको बुझाइमा एकरुपता हुनुपर्ने बताउनु भयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संघीयता कार्यान्वयनको पक्ष फितलो भएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तिनै तहका मानिसहरुको एकात्मक मानसिकता रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान अनुरूपको कानून बनाउँदा संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहने र प्रदेशले स्थानीय तहलाई अधिकार दिन नचाहने समस्या देखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू