अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

महाकाली सन्धिकाे २६ वर्षपछि नेपालले पानी पायाे

बिआरटीनेपाल २०७९ असार १४ गते ७:१६ मा प्रकाशित

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य सुरु भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिदेखि परीक्षण गर्नका लागि पानी छोड्न थालिएको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर भोलि बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तररूपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट २८ दशमलव ३५ क्युसेक पानी उपलब्ध गराउने सहमति भएको थियो । काम गर्दै जाँदा २६ वर्षपछि नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ । अहिले निरन्तर पानी परीक्षण भइरहेको छ । भोलि असार १५ गते धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर पहिलो पटक नेपाली खेतमा पानी पुर्‍याएर रोपाइँ गर्ने कार्यक्रम राखेका छौं । २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुसी लागेको छ ।

सन् २०२२ सम्म मूल नहर निर्माणसम्पन्न गरिसक्नुपर्ने भनिए पनि पूरै काम सकिने सम्भावना कम देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८ दशमलव ३५ क्युसेक पानी पाउनेछ भने हिउँदको समयमा ८ दशमलव ५ क्युसेक पानी प्राप्त गर्नेछ । मूल नहरसँगै शाखा नहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछ भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा शाखा विस्तार गरिनेछ ।

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू