अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

अमेरिकी राष्ट्रपतिद्वारा तीन महिनाका लागि पेट्रोलियम कर स्थगित गर्न आह्वान

बिआरटीनेपाल २०७९ असार ९ गते ८:१० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्धनको आकाशिदो मूल्य नियन्त्रण गर्ने उद्देश्यले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तीन महिनाका लागि स्थगित गर्न आह्वान गर्नुभएको छ ।अमेरिकामा प्रति ग्यालन अर्थात साढे चार लिटर भन्दा बढी पेट्रोलको मूल्य पाँच डलर पुगेको छ जुन एक वर्ष अघि तीन डलर मात्रै थियो । आगामी नोभेम्बरमा हुने संसदीय चुनावलाई लक्षित गरी राष्ट्रपति बाइडेनले कर स्थगनको प्रस्ताव गरेको हुनसक्ने भन्दै कर कटौतीबाट साधारण उपभोक्तालाई खासै राहत नपुग्ने टिप्पणी गरिएको छ ।

तर, सरकारलाई भने १० अर्ब डलर बराबरको भार पर्ने छ । ट्याक्स होलिडेका लागि अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्ने छ । तर सांसदहरूले कर स्थगनको प्रस्तावले तेल उत्पादक कम्पनीहरूलाई मात्रै फाइदा पुग्ने भन्दै विरोध जनाएकाले राष्ट्रपति बाइडेलनको प्रस्ताव अनुमोदन हुन्छ भन्न नसकिने बताइएको छ । सांसद तथा सिनेटरहरूले सर्वसाधारण उपभोक्तालाई तत्काल राहतको सास फेर्न मिल्ने गरी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । अमेरिकाले सडक मर्मत सम्भारका लागि भन्दै पेट्रोलमा प्रति ग्यालन १८ सेन्ट्स् र डिजेलमा २४ सेन्ट्स् कर लगाउँदै आएको छ ।

अमेरिकाको इन्धन तथा पेट्रोकेमिकल उत्पादक उद्योगले पनि कर होलिडेले समस्याको समाधान नगर्ने बताएको छ । रुस–युक्रेन युद्धका कारण खल्बलिएको आपूर्ति प्रणालीलाई पुनस्थापना गर्नु वा त्यसको विकल्प खोज्नु नै समाधान हुने विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू