अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

कोरोना महामारीपछि साउदी अरबद्वारा पहिलो पटक हजयात्रीको विदेशी टोलीलाई स्वागत

बिआरटीनेपाल २०७९ जेठ २१ गते ६:४४ मा प्रकाशित

साउदी अरबले काेभिड–१९ (कोरोना भाइरस) काे महामारी सुरु भएपछि हज तीर्थयात्रीको पहिलो समूहलाई स्वागत गरेको छ । इन्डाेनेसियाबाट पुगेको समूह आज शनिवार मदीना सहरमा अवतरण भएको र उनीहरूलाई साउदी सरकारले स्वागत गरेको हज मन्त्रालयका मोहम्मद अल–बिजावीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मलेसिया र भारतबाट हजका लागि तीर्थयात्री आउने क्रममा रहेका उहाँले बताउनुभयो ।

बितेका दुई वर्ष महामारीका कारण तीर्थयात्रीलाई प्रतिबन्ध लगाएकोमा यो वर्ष खुला गरिएकाे हो । दुई वर्षे प्रतिबन्धपछि बाहिरी देशबाट आएका पाहुनाहरूको व्यवस्थापनका लागि पूर्ण तयारीमा रहेको साउदी सरकारले जनाएको छ ।

हजलाई इस्लामका पाँच खम्बामध्ये एक मानिन्छ । मुसलमानहरू सम्भव भएसम्म आफ्नो जीवनमा कम्तीमा एक पटक हज जाने चलन छ । विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा झन्डै २५ लाख जनाले भाग लिएका थिए । साउदी अरबले यो बर्षको हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानलाई भाग लिन अनुमति दिने घोषणा गरेका छ ।

हजमा इस्लामको सबैभन्दा पवित्र सहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू