अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

रूस र यूक्रेनबीच युद्ध भएको सय दिन पूरा, १ करोड २० लाख युक्रेनी नागरिक विस्थापित

बिआरटीनेपाल २०७९ जेठ २० गते ७:४९ मा प्रकाशित

रूसले युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) एक सय दिन पूरा भएको छ ।यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् भने रुसी सेनाका तर्फबाट दशौं हजारौं निहत्था युक्रेनी नागरिक मारिएका छन् । १ करोड २० लाख नागिरक विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुग्दा ८० लाख मानिस आन्तरिक रूपमै विस्थापनमा परेका छन् ।

ठूलो मानवीय संकटमा फसेको युक्रेनमा एक बच्चा हरेक सेकेन्डमा युद्ध शरणार्थी बनिरहेको बताइएको छ । उता, रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेका छन् । रुसले प्रत्यक्ष फाइदा नपाएपनि तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने युक्रेन पनि रूससमक्ष आत्मसमर्पण गर्ने अवस्थामा छैन ।गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रुसले युद्धमा विजय नपाए पनि युक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ । सुरूमा पूर्वी युक्रेनसँगै राजधानी किभलाई लक्षित गरी आक्रमण गरिएको थियो । केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ ।

ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ । शान्त र सुन्दर युक्रेन खण्डहरमा परिणत भएको छ । यस युद्धमा क्रमशः पूर्वी युरोप र बाँकी विश्व पनि तानिएको छ । संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ । युक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ । रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू