अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेको जित, ओलीको गृहनगरदेखि बालकोटसम्म गठबन्धनको धक्का

बिआरटीनेपाल २०७९ जेठ ३ गते ७:५७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका तारा कुमारी काजी महतो ९ हजार ९ सय १ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषिराम काफ्लेले ७ हजार ७ सय २९ मत ल्याउनुभयो ।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । अघिल्लो निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित छ । यता ओलीसँग जोडिएका पालिकाको लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडेको छ ।ओलीको जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ । सूर्यविनायक– २ मा कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ ।

ओलीको गृहनगरमा एमाले यसपटक पनि कांग्रेसलाई रोक्न सक्ने देखिएको छैन । सूर्यविनायकमा पनि कांग्रेस जित नजिक छ ओलीको निर्वाचन क्षेत्र समेत रहेको गृहनगर झापाको दमक नगरपालिकामा पनि एमाले कमजोर देखिएको छ ।स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भएसँगै नेकपा एमालेलाई ताप्लेजुङमा ठुलो धक्का लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ताप्लेजुङको एक नगरपालिका, ४ गाउँपालिका जितेको एमाले यो निर्वाचनमा तीन पालिकामा खुम्चिएको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये एक नगरपालिकासहित ४ वटामा नेपाली कांग्रेसले जितेको छ । माओवादी केन्द्र दुई पालिकामा विजयी भएको छ । ताप्लेजुङ पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईको गृहजिल्ला हो । गठबन्धनका कारण नेकपा एमाले देशैभरी खुम्चिदा गठबन्धन घटक दलका केही मुख्य निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारले अग्रता बनाएको देखिएको छ । काठमाडौंको शंखरापुरमा राप्रपा विजयी हुँदा हेटौंडामा गठबन्धनलाई राप्रपाका उम्मेदवारको चुनौती छ ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता हुँदा जनकपुरधाम, धनकुटा र धनगढीमा पनि गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू