अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

मतदानको लागि बुथ बनाउने काम धमाधम : यसपालि टेन्ट राख्ने काम पनि थपियो

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ४:३१ मा प्रकाशित

पालिका चुनावका लागि मतदान स्थल निर्माणको काम भइरहेको छ । भोलि हुने मतदानको लागि छेकबारसहित ‘बुथ’ व्यवस्थित गर्ने काम भइरहेकाे हो ।

देशभरिका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ स्वयम्सेवक परिचालन गरिएको छ । सुरक्षाकर्मी, कर्मचारी र स्वयम्सेवक मतदान केन्द्र निर्माणमा जुटेका हुन् ।  मतदान केन्द्र सबैलाई सहज हुने तरिकाले बनाउन आयोगले निर्देशन दिएको छ ।  मतदानको दिन पानी पर्ने सम्भावना रहेकाले यसपालि मतदानस्थलमा टेन्ट बनाउने काम पनि थपिएको छ । आयोगले मतदान केन्द्रमा टेन्टको पनि व्यवस्था गर्न यसअघि नै निर्देशन दिएको छ । मतदान केन्द्र निर्माण गर्दा स्थानीय स्तरमा उपलब्ध डोरी, बाँस, घोचा, पाल जस्ता सामग्रीको उपयोग गर्न सकिनेछ ।

साथै मतदान केन्द्रमा आवश्यक पर्ने टेबुल, बेञ्च, कुर्सी लगायतका सामग्रीको व्यवस्था मिलाउनु पर्नेछ । केन्द्रमा मत सङ्केत गर्नका लागि गोप्य कक्षसहित मतपत्रमा छाप लगाउने टेबुल राख्नुपर्ने हुन्छ ।

मतदान केन्द्रको बाहिरी भागमा खुला ठाउँमा महिला र पुरुष मतदाताको लागि डोरी वा बाँस लगाएर अलग–अलग रूपमा पङ्क्तिबद्ध हुने व्यवस्था मिलाउन, सुत्केरी/गर्भवती, अशक्त, अपाङ्गता भएका, वृद्ध, बिरामी, क्रियापुत्रीका लागि उचित व्यवस्थापन गर्न पनि आयोगले भनेको छ ।मतदान गरिसकेको व्यक्ति फेरि मतदान कक्षतर्फ फर्कन नसक्ने गरी बाहिर निस्कने व्यवस्था मिलाउनुपर्नेछ । स्थानीय बासिन्दाको सहयोगमा मतदान केन्द्रको वरपर सम्भव भएसम्म खानेपानी र शौचालयको पनि प्रबन्ध मिलाउनु पर्नेछ ।भोलि हुने मतदानका लागि अन्तिम तयारी भइरहेको आयोगले जनाएको छ । सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन लागि परेको र आज बेलुकासम्म यी सबै काम सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू