अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

चुनाव प्रचार प्रसारकाे भिडभाडले काेराेना संक्रमण बढ्ने त्रास, दुरी कायम गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:२७ मा प्रकाशित

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार र मतदाता उत्साहित भएर चुनावी प्रचार प्रसारमा लागिपरेका छन् । साथै प्रचार प्रसारको नाममा हुने भिडभाडले कोरोना संक्रमणलाई बढावा दिन्छ कि भन्ने त्रास पनि बढेको छ।स्थानीय तहका उम्मेदवारहरु बैशाख ३० गते  हुने निर्वाचनको तयारीमा लागेका  छन् । विगतमा अत्यधिक कोरोना संक्रमनबाट ग्रसित भएर गुज्रिएको नागरिक सामान्य अवस्थामा आएको धेरै समय भएको छैन  ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो दुई  साताकाे तथ्यांक अनुसार  दैनिक २० जनाको हाराहारीमा कोरोना संक्रमित भेटिने गरेका छन् । पछिल्लो समय छिमेकी मुलुकमा कोभिड संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । यही सन्दर्भमा निर्वाचनको क्रममा हुने गरेको भीडभाडले कोभिडको खतरा बढाउने हो कि भन्ने आशंका बढाएको छ  ।यदि चुनावलाई मध्यनजर गर्दै चुनावी प्रचारप्रसार लगायतका गतिविधिहरुमा सम्वेदनसिलता अपनाउन सकिए संक्रमणको  जोखिमलाई कम गर्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

नेपालमा तत्काल १२ वर्ष माथिका उमेर समूहका लागि खोप प्रयोगमा आइरहेको  छ । करिब  ५ करोड खोप ल्याएकोमा ४ करोडभन्दा बढी  प्रयोग भइसकेको छ । गएको महिना म्याद गुज्रिने खोपहरु समय भित्र नै लगाइसकिएको छ  । नेपालमा भेरोसेल बाहेक कोभिडसिल, एस्ट्राजेनेका, जोनसोन एन्ड जोनसोन, फाइजर, मोर्डना खोप उपलब्ध रहेका छन् ।त्यस्तै, हरेक स्थानीय तहले जिल्लाहरुमा समन्वय गरेर बाँकी  भएका लक्षित जनसंख्याको आधारमा खोप अभियान सञ्चालन गरेका छन् । साथै निर्वाचनकै दिन मतदान केन्द्रमा खोप लगाउन सम्भव नभएको  अधिकारीको भनाइ छ ।

कोरोना विरुद्धको खोप नलगाएकाहरुले मतदान गर्न नपाउने हुन् कि भन्ने प्रश्न उठिरहेको बेला स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले खोप नलगाएकाले पनि  मतदान गर्न पाउने र मतदान गर्न जाँदा कोभिड कार्ड अनिवार्य हुनु पर्ने प्रावधान नरहेको स्पष्ट पार्नुभयो । निर्वाचनलाई ध्यानमा राखेर पूर्ण स्वास्थ्य  मापदण्ड पालना गर्दै मास्क, स्यानिटाइजर र एक आपसमा दुरी कायम गर्न भने स्वास्थ मन्त्रालयले आग्रह गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू