अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

कांग्रेस र कम्युनिष्ट मिलेरै ठूला परिवर्तन भए, गठबन्धनले जनताको बिश्वास जितेकाे छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताउनुभएको छ ।पाँच दलीय गठबन्धनद्वारा आइतवार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको बिश्वास जित्दै आएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ । कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।”पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई/दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवर्द्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो।भ्रष्टाचार नगर्ने, सुशासनको प्रवद्र्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहनसमेत उहाँले उम्मेदवारलाई सुझाव दिनुभयो ।

संसारलाई आकर्षित गर्नसक्ने पोखरा महानगरको प्रमुख÷उपप्रमुख पद धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिनेसमेत उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू