अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७९ वैशाख ५ गते १९:१५ मा प्रकाशित

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौँको दरवारमार्गमा आयोजना गरिएको १५ औँ दरबारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरू आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठुलो ऊर्जा दिएको छ । महोत्सवमा कलाकारहरूले प्रस्तुुती दिन थालेपछि माहौल निकै मनोरञ्जनात्मक भएको थियो ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बिच औपचारिक शुुभारम्भ गर्नु भएको थियो । देशका ९० प्रतिशत बढी जनसङ्ख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरूक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताउनु भयो ।

सहकार्य: ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्धन गर्नु रहेको थियो । महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसंग महासङ्घको विशेष सहकार्यमा यो महोत्सव आयोजना गरेको हो ।

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताउनु भयो ।

महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठुला सबै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताउनुु भयो । धन्यवाद मन्तव्यका क्रममा रेवानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र वाह्य पर्यटन पुनरूत्थानमा सहयोग गर्न सकियोस भनेर महोत्सव आयोजना गरिएको बताउँनु भयो ।

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरू सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गरेका थिए । चर्चित गायकगायिका, कलाकार तथा साङ्गीतिक समुहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विशेष प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो ।

महोत्सवमा दीपक बज्राचार्य एण्ड रिदम व्याण्ड, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय साङ्गीतिक समूह सुर सुधा लगायत अन्य कलाकार तथा समूहहरू जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिँदै आगन्तुकहरुलाई गीतसंगितले मनोरञ्जन दिएका थिए । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुति थियो ।

महोत्सवमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुुन्तलाल हिराचन, व्यापार मेला समितिका सभापति नरेन्द्र खड्का, रेवानका पदाधिकारीहरू, दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधर सहित पदाधिकारीहरू र एनसेल, रोयल स्टयाग, गोरखा ब्रुअरी लगायत कम्पनीका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति थियो ।

सोही अवसरमा महोत्सवलाई सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक एनसेल, सह प्रायोजक गोरखा व्रुअरी, रोयल स्ट्याग सहित अन्य सहयोगी संस्थाहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । त्यसै गरी महोत्सवको बैकिङ् पाटर्नर एनआइसी एसिया बैङ्क, इन्सुरेन्स पाटर्नर नेशनल लाईफ इन्सुरेन्स, विभरेज पाटर्नर डाबर नेपाल, अन्य सहयोगी पार्टनरहरू नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरू पनि प्रदर्शनीमा राखिएका थिए । त्यसै गरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए । महोत्सवमा ६० वटा स्टल राखिएका थिए ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठुलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू