अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

देशको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ- एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ चैत ३० गते ७:५७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ । एमाले विराटनगर महानगरले आज बुधवार आयोजना गरेको वृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र नागरिकमा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीका लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।उहाँले देशलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन पालिका बनाउने षड्यन्त्रलाई नेपालीले नमान्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले देशको अर्थतन्त्र धराशायी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक एक सयदेखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक एक सय ३३ रुपैयाँ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू