अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ चैत २६ गते ७:१४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उहाँले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ ।”निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “छिट्टै निर्माणकार्य सुरु हुनेछ ।”

साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको भन्दै उहाँले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गर्नुभयो ।पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताउनुभयो ।

उहाँले साइक्लिङ खेललाई प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन र आर्थिक बृद्धि गर्न सकिने बताउनुभयो ।उहाँले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिनुभयो । राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सूर्य भण्डारीले खेलको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै बागमती प्रदेश खेलकूद समितिले सोहीबमोजिम आफ्ना गतिविधि अगाडि बढाएको बताउनुभयो । कार्यक्रममा तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम हुनुभयो भने सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गर्नुभयो । त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बन्नुभयो ।

म्याराथुनमा मास्टर सेरोमेनीमा विजयीहरूलाई पुरस्कृत गरिएको थियो । म्याराथुनमा उत्कृष्ट साइकल राइडर  सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमी दूरी पूरा गरी सर्वोत्कृष्ठ बन्नुभयो । कार्यक्रममा विभिन्न विधाका ४१ जना विजयी खेलाडीलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । चितवनसहित ११ जिल्लाका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू