अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

युक्रेनलाई तटस्थ हैसियत कायम गर्ने गरी छलफल गर्न तयार छौँ- राष्ट्रपति जेलेन्स्की

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:०१ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले तटस्थ हैसियत कायम गर्ने गरी छलफल गर्न तयार रहेको बताउनुभएको छ । स्वतन्त्र रुसी पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले शान्ति सम्झौताका लागि तटस्थ हैसियत कायम गर्ने गरी छलफल गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर उहाँले त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने बताउनुभयो । रुसी भाषामा अन्तर्वार्ता दिनुभएका जेलेन्स्कीले रुसी आक्रमणले युक्रेनको रुसी भाषा बोलिने सहरहरू ध्वस्त पारेको पनि बताउनुभयो ।

युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसै हप्ता टर्कीमा हुँदैछ । युक्रेनले निःशस्त्रीकरण हुनुपर्नेजस्ता माग भने अस्वीकार गरेको जेलेन्स्कीले बताउनुभयो । जेलेन्स्कीले आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने बताउनुभएको छ । कुराकानीमा उहाँले अब पनि युद्ध लम्बिँदै गएमा तेस्रो विश्व युद्ध सुरु हुने खतरा बढेकाले आफूले शान्तिवार्तालाई जोड दिएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू