अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

९ मे अघिनै युक्रेन कब्जा गर्ने रुसी प्रयास

बिआरटीनेपाल २०७८ चैत १३ गते ८:१० मा प्रकाशित

युक्रेनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले आगामी ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको दाबी गरेको छ । रुसले युक्रेनमाथि बिनाकारण आक्रमण गरेको एक महिना भन्दा बढी समय भएको छ । युक्रेन भन्दा कैयौं शक्तिशाली रुसले युक्रेनलाई कब्जा गर्न छोटो समय लाग्ने आकलन गरेको थियो । तर रुसको आकलन बिपरित युद्ध लम्बिएको छ । युद्ध लम्बिदै गएको अवस्थामा रुसले जसरी भएपनि ९ मे अघिनै युद्ध अन्त्य गर्न खोजेको छ । किनकि सन् १९४५ मा भएको दोस्रो विश्वयुद्धका बेला रुसी (सोभियत संघ) सेनाले जर्मनीको नाजी सेनामाथि विजय प्राप्त गरेको थियो ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार त्यसकारण पुटिन पनि त्यही चाहन्छन् त्यसभन्दा उता युद्ध नलम्बियोस र युक्रेन कब्जा गर्न सकियोस् । तर युक्रेनी सेनाले बहादुरीताका साथ रुसी सेनाको प्रतिरोध गरिरहेका कारण रुस र युक्रेन युद्ध कहिले सकिन्छ भन्ने टुंगो लागेको छैन । रुसले गत फ्रेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो ।रुसले हरेक वर्ष मे ९ को दिन ‘भिक्ट्री परेड’ (विजयी परेड) आयोजना गर्ने भएकाले उसका लागि यो दिन विशेष महत्व छ ।

सन् १९३९ देखि शुरु भएको दोस्रो विश्व युद्ध सन् १९४५ मा अन्त्य भएको थियो । जर्मनको नाजी पार्टीका नेता एडोल्फ हिटलर नेतृत्वको जर्मनी सेनाले त्यतिबेला विश्वमा तहल्का मच्चाएको थियो । त्यसपछि अमेरिका, बेलायत र सोभियत संघ मिलेर मिलेर नाजी सेनालाई हराएका थिए । जब हिटलरलाई चारैतिर बाट घेरा हालियो, तव कुनै बाटो नपाएपछि उनले ३० अप्रिल १९४५ मा आफ्नै बंकरमा आत्महत्या गरेका थिए । हिटलरको निधन पछि जर्मनीले मे ८ मा दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको थियो । जर्मनीमा ८ तारिख को दिन रुसमा ९ तारिख लागिसकेको थियो । यहि कारणले सन् १९४५ पछि रुसले ९ मेमा विजय परेड आयोजना गर्न थाल्यो । तर, केहि युरोपेली देशहरूले मे ८ मा आफ्नो विजय दिवस मनाउँने गरेका छन् ।

रुसमा सुरुमा यो विजय परेड धेरै वर्षमा एकपटक हुने गर्दथ्यो । तर, सन् १९९५ देखि हरेक वर्ष ९ मेमा आयोजना गर्न थालिएको हो ।जर्मन सेनाको आत्मसमर्पण पछि पनि दोस्रो विश्वयुद्ध मे ९ मा समाप्त भने भएको थिएन् । किनकी जर्मन सेनाले आत्मसमर्पण गरेपछि पनि जापान आत्मसमर्पण गर्न तयार थिएन । यसै कारण अमेरिकाले जापानको हिरोसिमामा ६ अगस्ट १९४५ र नागासाकीमा ९ अगस्ट १९४५ मा आणविक हमला गरेको थियो । यो इतिहासकै पहिलो र अन्तिम आणविक बम बिस्फोट भएको थियो । आणबिक हमलाको कारणले जापानलाई आत्मसमर्पण गर्न बाध्य बनाएको थियो । अन्त्यमा २ सेप्टेम्बर १९४५ मा गएर दोस्रो विश्वयुद्ध समाप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू