अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

प्रधानमन्त्रीद्धारा देशकै दोस्रो सबस्टेशनको उद्घाटन, १२ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने

बिआरटीनेपाल २०७८ चैत ५ गते ८:१८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थलीस्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको सबस्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब १२ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ । त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित सबस्टेशनमा लगिएको छ । ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेशन हुँदै काठमाडौँसहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले अनेकौँ कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएको र यसबाट जलविद्युत् र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताउनुभयो ।

उहाँले यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको उल्लेख गर्नुभयो । तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठूलो मद्दत पुर्याईरहेको छ । यसअघि आजै प्रधानमन्त्री देउवाले दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू