अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

राजालाई गाली गरेर पार्टी चलाउने कुरा दिवासपना : राजेन्द्र लिङ्देन

बिआरटीनेपाल २०७८ चैत ४ गते ७:४८ मा प्रकाशित

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताउनुभएको छ ।ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताउनुभयो ।

लिङ्देनले राप्रपा राजनीतिक पार्टी मात्रै नभएको उल्लेख गर्दै जनअपेक्षलाई धोका नदिई दल चलाउने उद्देश्य उल्लेख गर्नुभयो । उहाँले राप्रपाको महाधिवेशनपछि जनतामा सकारात्मक आशा पैदा भएको दाबी पनि गर्नुभएको छ । सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको आरोप लगाउनुभयो ।

उहाँले राजालाई गाली गरेर राजनीति गर्ने दिन अब नभएको पनि बताउनुभएको छ । उनले भन्नुभयो, ‘राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए । विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुने र राजालाई गाली गरेर राजनीति धान्ने दिन गए ।’

आमसभालाई उपाध्यक्ष रोशन कार्की, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवं चर्चित नायिका रेखा थापा, धर्म संस्कृति समन्वय विभागका प्रमुख पुष्पराज पुरुष, धार्मिक अभियन्ता अभिषेक जोशी, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू