अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

फागनु १५ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान, बिहीबार मात्र तीन दल थपिए

बिआरटीनेपाल २०७८ फागुन ५ गते ७:३३ मा प्रकाशित

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई आउँदो स्थानीय तह निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको जानकारी दिनुभयो । योसँगै आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेको छ ।

आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । निर्देशिकाअनुसार सम्बन्धित पालिका स्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरिने जनाइएको छ ।प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजकोे स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेशन पनि आयोगबाट स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ ।त्यस्तै निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतको नामावली पनि फागुन १५ गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतीका लागि नेपाल सरकार अर्थ मन्त्रालयमा अनुरोध गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू