अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

मधेस सरकारले छात्रालाई ल्यापटप दिने

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:५२ मा प्रकाशित

मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत ल्यापटक वितरण गर्ने भएको छ।लामो समयदेखि बन्द रहेको बेटी पढाऊ, बेटी बचाऊ अभियान पुनः सञ्चालन हुन लागेको हो। यसपटक भने यस अभियानअन्तर्गत प्रदेशका छोरीहरूलाई ल्यापटप दिइने भएको छ।सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७८ बनाएको छ। जसअनुसार कक्षा ११ मा अध्ययनरत जेहेन्दार छात्रालाई ल्यापटप दिइनेछ।

कार्यविधिअनुसार एसईईमा ३.२ भन्दा माथि जिपिए ल्याउने छात्रामध्येबाट उच्च जिपिए ल्याउने छात्रालाई वितरण गरिनेछ। ल्यापटप वितरणसम्बन्धी अन्य व्यवस्था निर्देशक समितिले निर्णय गरेबमोजिम हुने कार्यविधिमा उल्लेख छ।तर, कक्षा ११ अध्ययन निरन्तर नगरे, कक्षामा ७० प्रतिशतभन्दा कम हाजिरी रेकर्ड रहे अथवा सामुदायिक विद्यालयमा नाम दर्ता गराई निजी विद्यालयमा अध्ययनरत पाइएमा त्यस्ता छात्रालाई ल्यापटप नदिइने कार्यविधिमा उल्लेख छ।

त्यस्तै, लामो समयदेखि बन्द रहेको छोरी शिक्षा बिमा कार्यक्रम पुनः सुरु भएको छ। ०७८ माघ १ गतेदेखि जन्मिएका छोरीहरुको बिमा पुनः सुरु भएको छ।
प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीहरूको ३ लाखको बिमा गर्दै आएको छ। तर, बिमित रकम प्राप्त गर्नका लागि छोरी २० वर्ष पूरा गरेको र एसईई पूरा गरेपछि मात्र निर्देशनालयको सिफारिस र अन्य आवश्यक कागजात प्राप्त भएपछि खातामा जम्मा भएको रकम नियमानुसार प्राप्त हुने ब्याज, बोनससहित सेवाप्रदायकले बिमित मुद्दति बचतकर्तालाई भुक्तानी गर्नेछ।

कार्यविधिअनुसार २० वर्ष नपुगी अथवा एसईई उत्तीर्ण नगरेकी छोरीको बिमित रकम बेटी पढाऊ, बेटी बचाऊ अभियानमा जानेछ। यसअघिको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ निर्देशिका ०७७ र छोरी शिक्षा-मुद्दति कार्यक्रम सञ्चालन निर्देशिका २०७५ भने खारेज गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू